सोलुखुम्बु । यस पटकको ११३औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वकै अग्लो स्थान सोलुखुम्बुस्थित खुम्जुङमा मनाइएको छ । सामाजिक संस्था साथसाथै र खुम्बुपासाङल्हमु गाउँपालिकाको संयुक्त आयोजित यो कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर सहभागी भइन् ।
उनले महिलाहरु जलवायु परिवर्तनको असरको शिकार बनेको बताउँदै आफूले खुम्बु क्षेत्रको पदयात्रा गर्दा जलवायु परिवर्तनकै कारण महिलाहरुले धेरै समस्या भोगेको देखेको बताइ्न । राज्यले नीतिगत रुपमै हिमाली भेगमा जलवायु अनुकुलनका कार्यक्रमको व्यवस्था गर्नुपर्ने रानामगरको भनाई छ ।
उनले भनिन्, ‘यहाँको कृषि, स्वास्थ्य र पर्यटनमा निकै नै प्रभाव परेको देखियो । अब यसको समाधानमा सिंगो राज्य लाग्नुपर्छ । त्यसको पहलकदमी म गर्छु ।’ विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङ ल्यामु गाउँपालिकाको वडा नम्बर ४ मा आयोजना गरिएको हो । साथसाथै नामक संस्थाले हरेक बर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले खुम्बु क्षेत्रका महिलाले भोगेका समस्या देशकै प्रतिनिधिमूलक समस्या भएको बताइन् । उनले महिला स्वास्थ्य, कृषि र पर्यटनमा जलवायु अनुकुलनका कार्यक्रम ल्याउन माथिल्लो सदनमा आवाज उठाउने बताइन् ।
पौडेलले भनिन्, ‘वर्षौंदेखि हिमाली भेगको वातावरण झेल्दै आइरहेका हिमाली भेगका महिलाहरुको अहिलसम्मको भोगाई, सिकाई तथा अनुभव राज्यको लागि नीति निर्माणको आधार बन्न सक्छ । म नीति निर्माण तहमा यहाँको वातावरण र पर्यावरण जोगाउने विषयमा जोडदार कुरा उठाउँछु ।’
त्यस्तै, जलबायु विज्ञ डा. माधव कार्कीले नेपालको जलवायु परिवर्तनको नीतिमा नै महिलाहरुलाई जलवायु परिवर्तनसम्बन्धी अधिकार सुनिश्चित गरेको उल्लेख गरे । उनले हिमाली क्षेत्रमा पानी आपूर्तीमा गम्भीर समस्या हुनुका साथै बेमौसममा उच्च तापक्रमका कारण हिउँ पग्लिएर हिमाल आरोहणमा पनि समस्या सिर्जना हुने बताए । कार्कीले जलवायु अनुकुलनको कार्यक्रममा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए ।
साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका उजागर गर्नुपर्ने बताइन्। हिमाली मुद्दामा सिंगो राज्यको प्राथमिकता पर्नुपर्ने उनको भनाई छ ।
कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले मन्त्रालयले हरेक स्थानीय तहमा जलवायु अनुकुलनको लागि कार्यक्रमहरु सञ्चालन गरिरहेको र आगामी दिनमा पनि नीतिहरु परिमार्जन गर्दै लैजाने बताइन् ।
गाउँपालिकाकी उपाध्यक्ष टासिल्हमु शेर्पाले स्थानीय सरकारले वातावरण संरक्षण र पर्यावरणको पक्षमा उल्लेख्य काम गरेको दावी गर्दै सगरमाथा विश्वकै सम्पत्ति रहेकाले यस क्षेत्रको सरंक्षणमा सबैको ध्यान जानुपर्ने बताइन्।
अभियान्ता शरु श्रेष्ठले जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने बताइन् । हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने आफूहरुको लक्ष्य रहेको उनले बताइन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हिमाली भेगमा हिउँ पर्न छाडेको विषय र यहाँका महिलाहरुले भोगेको सवाल आम संचारको प्राथमिक्तामा पर्नुपर्ने बताए ।
कृषि तथा खाद्य सुरक्षा विज्ञ डा. यमुना घलेका अनुसार जलवायु परिवतनको प्रत्यक्ष असर भान्सा, खानपिन तथा पोषण, सुरक्षामा पदा छ भन्दै त्यसबाट सबै भन्दा बढी महिला, बालबालिका तथा वृद्ध वृद्धामा परेको बताइन् ।
सो अवसरमा खुम्बु महिला समूहका अध्यक्ष तथा प्रतिनिधिहरुले आफूहरुले पिउने पानी, स्वास्थ्य र पर्यावणीय समस्या झेल्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।