१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘म भ्युजको लागि काम गर्दिन’


२४ फाल्गुन २०७९, बुधबार  

0
Shares

सागर विरही, नेपाली संगीतमा स्थापित नाम हो । कहिल्यै भाइरल कन्टेनको पछि नलाग्ने उनी मौलिक सिर्जनामा तल्लीन गायक तथा सर्जक हुन् । तनहुँको घिरिङमा जन्मे, हुर्केका सागरले संगीतमा दुई दशक बिताइसके । यो अवधिमा के गरेनन् । काठमाडौंमा छाक टार्नैका लागि इट्टा बोकेकोदेखि दोहोरी साँझको संघर्ष सम्झनलायक छन् ।

गायन र सिर्जनाबाट स्थापित बनेका सागरले लोकसिर्जना र गायनमा मात्र योगदान गरेका छैनन् । उनले आधुनिक विधाका गीतमा संगीत दिएका छन् । जुन गीत सफल बने । उनले संगीत गरेको आधुनिक गीतमा ‘जस्लेलाई कहिल्यै पाउ“दिन“ म’, ‘बिछोड’ भाग १ र २, ‘तिम्रो नजर’ लगायतका छन् । लोकगीतमा मौलिकता नछाड्ने उनका ‘सम्झना छ भन्देऊ’, ‘माया गर्नेहरू’, ‘धुरुधुरु रुवाउने माया’, ‘लौरी बेतैको’, ‘रैछ माया अरिकैको’लगायतका दर्जनौ लोक तथा दोहोरीहरू डिजिटल बजारमा छन् ।

पछिल्लो समय संगीत संयोजनमा व्यस्त मानिएका सागरले संगम इन्टरटेनमेन्ट सञ्चालन गर्दै आएका छन् । उनले मोडलिङ, निर्देशनको काममा पनि अनुभव लिन छाडेनन् । अहिले आफ्ना एकल सिर्जनालाई लाइभ गायनको माध्यमबाट श्रोता दर्शकको मौलिक चाहलाई मेटाउ“दै आएका छन् । रेकर्डिङ स्टुडियो निर्माणको योजनामा रहेका उनै सर्जक तथा गायक विरहीसँग गरिएकाे कुराकानीको सम्पादित अंश :

कस्तो आशासहित सिर्जना गर्नुहुन्छ ?
म भ्युजका लागिभन्दा पनि मौलिकता जोगाउनुपर्छ भन्ने मान्यता राख्छु । हरेक सिर्जनामा मौलिकता मिसाउछु । धरातल नै मौलिक गीत भएकाले बाचुन्जेल मौलिकताबाट टाढा रहनै सक्दिनँ । रातारात भ्युज जान्छ भन्ने ठूलो आशा राखेर काम गर्दिनँ । मेरो सिर्जना सयले हेर्दा पनि लाखले हेरे झैँ खुसी हुन्छु । मलाई छाडा गीत मन पर्दैन । मौलिकतामै रमाइरहेको छु ।

तपाईंका प्रायःगीतहरूमा विरह भाव भेटिनुको कारण ?
हो, मेरा सिर्जनामा विरह मिसिएका हुन्छन् । रमाइलो गीतहरूमा कहीँ न कहीँ विरही शब्द समावेश भइनै हाल्छ । सिर्जनामा विरह भावका शब्द आइहाल्छन् । त्यो मेरो विशेषता नै बनिसक्यो ।

तपाईंका संघर्षका दिन दोहोरी सा“झमा पनि बित्यो, त्यसप्रतिको धारणा के हो ?
अधिकांश लोकदोहोरी कलाकारको संघर्ष दोहोरी साँझबाट भएका छन् । त्यो यात्राबाट अघि बढेका कलाकार आज काठमाडौंमा घर बनाएर गाडी चढेर गुड्ने भइसके । त्यो दोहोरी साँझको उपलब्धि हो । म पनि दोहोरी साँझको धरातलबाट माथि उठेको हुँ । म पनि बिर्सन सक्दिनँ ।
दोहोरी साँझमा विकृति छ भन्छन्, त्यो हेर्ने नजरमा भर पर्दछ । कलाकारलाई हेर्ने दृष्टिकोण कुन सेन्सबाट हेर्छ भन्ने हो ।

बाहिरी हल्लाको भरमा बनेको दृष्टिकोणबाट हेर्दा नराम्रो देखिन्छ होला । उनीहरूको पेसा, संघर्षलाई केन्द्र भागबाट हेर्दा राम्रो पनि देखिन्छ होला । हरेक पेसालाई सम्मान गर्ने बानीको विकास गरिनुपर्छ । मेरो धारणा भन्नुहुन्छ भने त, दोहोरी साँझ कलाकारको सिकाइको प्रमुख थलो हो । आज म जहाँ छु, त्यो दोहोरी साँझकै कारण छु ।

संगीतमा अलराउन्डर बन्ने कोसिसमा हुनुहुन्छ नि ?
हिजोका दिनमा मलाई नियाल्ने हो भने सामान्य इँटा बोक्ने मानिस हुँ । त्यो भन्न मलाई लाज छैन । किनकि, त्यही कामलाई निरन्तरता दिएको भए । मसँग इँटाभट्टाको मालिक बन्न सक्थे होला । वा ठेकेदार बन्न सक्थे होला ।

त्यो संंघर्षबाट संगीतमा लागे । यही क्षेत्रमा टिकिरहन कहिले गायक, कहिले सर्जक, कम्पनी सञ्चालक, एरेन्जर, कहिले निर्देशक, मोडलको भूमिका पनि निर्वाह गरे । दोहोरी साँझको कामदार हुँदै सञ्चालकको रूपमा पनि आफूलाई उभ्याए । हरेक भूमिकामा रहेर अनुभव बटुले । २०६३ सालदेखि अनवरत गीतसंगीतमै छु । यो अवधिमा विभिन्न भूमिकामा रहेर काम गरे ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ५ : ४५ बजे