सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ३ दिने शैक्षिक योजना निर्माण कार्यशाला गोष्ठी सुरु भएको छ । गाउँपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोगमा आजदेखि सुरु भएको गोष्ठीको गाउँपालिका अध्यक्ष धनजन राईले उद्घाटन गरे ।
अध्यक्ष राईले जनशक्तिको अभावका कारण पालिकाले शैक्षिक योजना निर्माण गर्न नसकेको अवस्थामा रीड नेपालले प्राविधिक तथा आर्थिक सहयोग गर्नु सुखद विषय भएको बताए । गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षा विकासको मेरुदण्ड भएकोले शैक्षिक योजना निर्माण महत्वपूर्ण रहेको बताउँदै योजना निर्माणले पालिकाको शैक्षिक उन्नति हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले रीड नेपालको मुख्य उद्देश्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार रहेकोले पालिकाको शिक्षा योजना निर्माण शैक्षिक सुधारको महत्वपूर्ण आधार बन्ने बताए ।
योजना ५ बर्षे हुनेछ । सोही योजना निर्माण सहयोगार्थ पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु, शिक्षा समिति सदस्य, विद्यालयका प्रध्यानाध्यापकहरु, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समिति, बालक्लब प्रतिनिधि, पालिकाका शाखा प्रमुख तथा स्थानीय स्रोत शिक्षकहरु गरी ४० जनालाई गोष्ठी सञ्चालन गरिएको हो ।
गोष्ठीमा सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव नीरा शाक्य र रीड नेपालका प्रशिक्षकहरुले गरिरहेका छन् ।