२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

उपराष्ट्रपतिमा चार उम्मेदवार, यादव विरुद्ध उजुरी


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

काठमाडौं । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि ४ जनाको मनोनयन दर्ता भएको छ । उम्मेदवारी दिनेमा नेकपा एमालेबाट एक र सत्ता गठबन्धनबाट ३ जना रहेका छन् । ३ मध्ये २ जना जनता समाजवादी पार्टीबाट रहेको छन् ।

एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा, जसपाबाट प्रमिला यादव र रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।

झाको प्रस्तावकमा नेताहरु अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी, अविराम शर्मा र रूपाकुमारी यादव छन् । त्यस्तै समर्थकमा गोमा लाभ सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन् ।

अर्का उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । यस्तै उहाँको समर्थकमा सांसदहरु अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिसकुमार सुमन छन् ।

यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

यादवविरुद्ध उजुरी
जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा (एमाले)का सांसद महेश बर्तौलासहितले आज नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पेस गरेका हुन् ।

‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको छ’, उजुरीमा भनिएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला हुनुपर्ने सांसद बर्तौलले उजुरीमा भनेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।

नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरिएको हो । उम्मेदवारको नाम फिर्ता र अन्तिम नाम प्रकाशन भोलि आइतबार हुनेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ३ : ३४ बजे