सगरमाथा क्षेत्रमा कोभिड महामारीसँगै सुस्ताएको विदेशी पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकहरुको चहलपहल बढेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकले जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ ।
सोहि स्थानको तथ्याङ्क अनुसार अहिले दैनिक रुपमा १ सय भन्दा बढि पर्यटक खुम्बु आईरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए । उपाध्ययका अनुसार फागुन २५ गते ८५ जना, २६ गते १२६ जना र २७ गते १४२ जना विदेशी पर्यटक खुम्बु आएका हुन् । कोरोना महामारीका कारण थलिएको पर्यटन अहिले चलायमान बन्दै गएको उनको भनाई छ ।
आरोहण सिजन नजिकिएसँगै जोरसल्ले चेकपोष्टका कर्मचारीमा पनि व्यस्तता बढेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको भनाइ छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रका व्यवसायी उत्साहित छन् । यतिबेला जिल्लाको खुम्बु क्षेत्र पुग्ने पर्यटक दिनप्रतिदिन बढिरहेका छन् । ट्रेकिङको सिजन शुरु भएसँगै पर्यटन व्यवसायी पनि लुक्ला, नाम्चे, लगायतका स्थानमा पुगेका छन् ।
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागतमा व्यस्त छन् । नाम्चेका होटल व्यवसायी लामाकाजी शेर्पाका अनु्सार होटल व्यवसायी व्यवसायमा निक्कै व्यस्त छन् भने सो क्षेत्रको बाटो, चौतारा तथा होटल लज पर्यटकले नै भरिभराउ बनदै गएका छन् । खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।