थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई गुणस्तरीय र सहज सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन् । नवनिर्मीत सुविधा सम्पन्न प्रशासनीक भवनबाट सेवा सुभारम्भ गर्दै अध्यक्ष राईले आम सर्वसाधरण नागरिकलाई केन्द्रमा राखेर सहज तथा सरल ढंगले सेवा प्रवाह संगै गुणस्तरमा कन्ज्युस्याँइ नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिएका हुन् ।
नागरिकको नजिकको स्थानीय सरकार प्रति आम नागरिकको आशा र विश्वास बढीनै भएकाले सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने अध्यक्ष राईको भनाई छ । कुनैपनि प्रकारको भेदभाव तथा पुर्वाग्रही ढंगले काम गरेको पाइएमा माफी दिन नसकिने अध्यक्ष राईले चेतावनी दिए ।
गाउँपालिका केन्द्र मुक्लीमा नवनिर्मीत भवनबाट आज (आइतबार) देखी सेवा सुरु भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए । कुवर डेप्लोपर्स एण्ड विल्डर प्रा.लि.ले २०७८ साउन २८ गते ३ करोड ४५ लाख २८ हजार ४ सय ६८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि जिम्मा लिएको थियो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको प्रबक्ता कार्कीले बताए ।
उक्त भवनको गत असोज ३ गते संविधान दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको थियो । सम्पुर्ण शाखा सहित सेवा आफ्नै सुविधा सम्पन्न भवनबाट सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।
पहिलोपटक स्थानीय सरकार गठन भएपछि जग्गा व्यवस्थापन संगै गाउँपालिकाले अस्थायी संरचना निर्माण गरि सेवा प्रवाह गरिरहेको थियो ।