१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

सोलुखुम्बुमा ब्लड बैंक नहुँदा समस्या, सम्भाव्यता अध्ययन गरिने


३० फाल्गुन २०७९, मंगलबार  

38
Shares

हिमाली जिल्ला सोलुखुम्बुमा ब्लड बैंक नहुँदा समस्या भएको छ । जिल्ला अस्पताल फाप्लुमै आउने बिरामीलाई ब्लड खोज्न धौधौ पर्ने गरेको हो । सोलुखुम्बु जिल्लामा ब्लड बैंक नहुँदा आकस्मिक रूपमा कुनै बिरामीलाई रगत चाहिए समस्या पर्ने गरेको छ । रगतका लागि वर्षौंदेखि सेना तथा प्रहरी, स्थानिय क्लब र व्यक्तिकै भर पर्नुपरेका हो ।

शल्यक्रियाबाट सुत्केरी गराउने सेवा शुरु भएयता रगत खोज्न समस्या हुँदै आएको छ । रगतको व्यवस्था गर्न नसक्दा ज्यानै जाने गरेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिमका श्रीध्वज तामाङले गुनासो गरे । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । सेना र प्रहरी कार्यालय जाँदा पनि नपाए अन्य उपाय छैन ।

जिल्ला अस्पताल फाप्लुका निमित्त कार्यालय प्रमुख सानी शेर्पा सुत्केरी गराउँदा रगत बढि बढे तत्कालै खोज्नका लागि समस्या हुने गरेको बताईन । अस्पतालमा सेवाका लागि जिल्लाका विभिन्न स्थानबाट समेत रेफर भएर उपचारका लागि यहाँ आउने गरेका छन् । तर ब्लड बैंक नहुँदा समस्या भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।


ब्लड बैंक स्थापनाका लागि पहल


जिल्लामा ब्लड बैंक स्थापनाका लागि पहल थालिएको छ । जिल्ला प्रशासन कर्यालय सोलुखुम्बुमा जिल्ला बसेको विपत व्यवस्थापन समितिको बैठकले प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको संयोजकत्वमा ११ सदस्यीय अध्ययन कार्यदल गठन गरेको हो ।

गठित कार्यदलले ब्लड बैंक स्थापनाका लागि सम्भाव्यता अध्ययन गरि १० दिन भित्र समितिलाई प्रतिवेदन गर्ने जिम्मेवारी पाएको छ । कार्यदलमा जिल्ला जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, विभिन्न संघ संस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरु सदस्य रहेका छन् ।

साथै, बैठकले बढ्दो आत्महत्या रोकथामका लागि पालिका तथा वडा स्तरबाटै विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, आगलागी नियन्त्रणका लागि आवश्यक सामाग्रीहरु राष्ट्रिय विपत न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौँसँग माग गर्ने, आगलागीबाट पुर्ण रुपमा नष्ट भएका घर निर्माण गर्न स्थानीय र प्रदेश सरकार तथा प्राधिकरणसँग अनुदान माग गर्ने लगायतको निर्णय गरेकोे छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २६ बजे