सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा शैक्षिक योजना निर्माण कार्यशाला गोष्ठी जारी छ । पालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा विहिबार देखि सुरु गोष्ठीको उद्घाटन पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले गरेका थिए ।
अध्यक्ष कुलुङले योजनामा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताए । किताबी ज्ञान मात्र भएर नहुने भन्दै बालबालिकाको व्यवाहारिक सीप विकास अझै महत्वपूर्ण हुने बताए । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले शैक्षिक सुधार गर्नको लागि योजना महत्वपूर्ण रहेको बताउदै शिक्षाको वास्तविक वर्तमान अवस्था विश्लेषण गर्दै आगामी ५ वर्षे शिक्षाको गुणस्तर कंहाँ पुर्याउने भन्ने दूरदृष्टि सहितको रोड म्याम तयार गर्नु गोष्ठीको उद्देश्य रहेको बताए ।
गोष्ठीमा पालिका उपाध्यक्ष विपना कुलुङ सहित वडाध्यक्षहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्ष, विभिन्न विद्यालयका प्रध्यानाध्यापकहरु, स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको छ । गोष्ठीको सहजीकरण शिक्षा मन्त्रालयका पूर्व सहसचिव निरा शाक्य र नेपाल सरकारका उपसचिव रेवती प्रसाद पराजुलीले गरिरहेका छन् ।