ओखलढुंगा । माथिल्लो सगरमाथाका नागरिकले अब सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागी बाहिर जानुपर्ने बाध्यता हटेको छ । ओखलढुंगाको रुम्जाटरमा स्थापना गरिएको यातायात व्यवस्थापन कार्यालयबाटै लाइसेन्स दिने कार्यको सुरुवात गरेको हो । लाइसेन्स सेवाको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन ।
उद्घाटन पछि बोल्दै मुख्यमन्त्री कार्कीले अब नागरिकलाई घर आँगनमै सेवा दिने गरि लाइसेन्स सेवा सुरु भएकाले ओखलढुंगा, सोलुखुम्बु र खोटाङका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबै काम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना भएपछि यसक्षेत्रका सेवाग्राहीलाई सहज भएको छ ।
यसअघि यातायात सम्बन्धी सामान्य कामका लागि पनि प्रदेश नम्बर २ को लाहान वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो । ओखलढुंगामा यातायात कार्यालय सञ्चालन भएपछि ओखलढुंगा, सोलुखुम्बु, खोटाङ र उदयपुरको उत्तरी क्षेत्रका नागरिकको त्यो सबै बाध्यता हटेको हो । कार्यक्रममा यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।