११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

ट्रेकिङ ट्रेलको खोज, विकास र विस्तारका लागि माप्य र टानबीच सहकार्य



सोलुखुम्बको माप्यदूधकोशी गाउँपालिकाले नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) सँगको साझेदारीमा पालिकाभित्र पर्यटन विकासका कार्यलाई अगाडी बढाउने भएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा र मेरापिकको प्रवेशद्वार भएर यस पालिकालाई पर्यटन क्षेत्र तथा पुर्वधार विकासका लागि गाउँपालिकाले टानसँग लिखित सम्झौता गरेको हो । सम्झौतापत्रमा आइतबार गाउँपालिकाका तर्फबाट अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गरेका छन् ।

यो हस्ताक्षरसँगै माप्यदुधकोशी ग्रामीण पर्यटन विकासका लागि टानससँग साझेदारी गर्ने पहिलो गाउँपालिका बन्न पुगेको छ । साझेदारीपत्रमा ट्रेकिङ ट्रेलको खोज, अन्वेषण, बिकास र बिस्तारका लागि दुबै पक्षले महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख छ ।

यसअघि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, वडा सदस्य दुर्गा राई, टानका पूर्व प्रथम उपाध्यक्षसमेत रहेका चोलेन्द्र कार्की तथा टानका तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल नेतृत्वको टोलीले स्थानीय स्तरमा पर्यटन विकासको सम्भावनाबारे अध्ययन गरेको थियो ।

पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका भएपनि बत्ती मुनिको अँध्यारोको रूपमा रहेकाले यसको विकासमा आफु लागि परेको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए । जसको माध्यमबाट आर्थिक स्तर बृद्धिदेखि रोजगारको समेत सृजना हुने अध्यक्ष राईको विकास छ । himalsamachar

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : २३ बजे