१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी



नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई भारी मतका साथ विजयी भएका छन् । सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गरे। शनिबार राती सकिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा मदनकै प्यानलका राधादेवी बस्नेत निर्वाचित भएकी छिन्। राधादेवीले २७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीता कुमारी आचार्यले १७३ मत प्राप्त गरिन् ।

सचिवमा भने महाप्रसाद फूयाल प्यानलका प्रकाश राई विजयी भए । उनी २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तरकुमार राईले २०४ मत प्राप्त गरेको नेपाल शिक्षक संघले जनाएको छ । खुला उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्तकुमार बस्नेत निर्वाचित भएका छन्। सहसचिवहरू तथा सदस्यहरु सबै निर्विरोध विजयी भएको बताइएको छ ।

अधिवेशनले १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । शिक्षक संघ सोलुका ७०२ जना सदस्य मध्ये ४६७ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमति हुन नसक्दा अन्ततः निर्वाचन प्रकृयामा होमिएको थियो ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : २६ बजे