हिमाली जिल्ला सोलुखुम्बुमा बाहिरी जिल्लाबाट तरकारी आयात बढेको छ । जिल्लामा खेतियोग्य जमिन बाँझिदै गएको छ, भने तकारी उत्पादन न्युन छ । फलस्वरुप जिल्लामा अहिले ९० प्रतिशत तरकारी भारत तथा चिनमा उत्पादन भएका आउने गरेको छ । जिल्लाको सदरमुकाम सल्लेरी, नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, खुम्बु क्षेत्रका स्थानिय हटिया तथा तरकारी पसलमा बाहिरबाट आएको तरकारी भेटिन्छ ।
केही समय यता तरकारी आयात दोब्बरले बढेको तरकारी व्यवसायी सुरज बस्नेतले बताए । उनले भने,‘स्थानिय उत्पादन कम छ, तरकारी खाने मान्छेको संख्या बढि छ बाहिरबाट आयात गर्नुको विकल्प छैन ।’ काठमाण्डौको कालीमाटीबाट तथा तराईका जिल्लाबाट अहिले ट्रकका ट्रक तरकारी जिल्ला आउने गरेको छ । तराईबाट आउने तरकारीमा जुकुनी, फर्सि, सिमि, टमाटर, प्याज, सब्जी रहेको व्यवसायीहरु बताउँछन् ।
गाउँघरका पसलमा पहिला स्थानिय उत्पादनले भरिभराउ हुन्थ्यो तर अहिले बाहिरबाट काम गर्न आउने कामदार तथा कर्मचारीले तरकारी खरिद गर्ने गरेको सल्यानकी बबिता कार्कीले बताईन् । उनले भनिनु,‘अहिले तरकारी सबै बाहिरबाट आउँछ, यहाँ बस्ने कर्मचारी कामदार सबैले बाहिरको तरकारी प्रयोग गर्छन ।’ जिल्लाका कतिपय स्थानिय तहले स्थानिय उत्पादनलाई बढवा दिनका लागि विभिन्न कृषिआयामका काम गरिरहेका छन् । तर प्रतिफल मुलक नबनेको व्यवसायी तिलक राईले गुनासो गरे ।
कृषिमा अनुदान आउँछ तर झोले किसानले कागजी भरमा खान्छ, उतपादनशिल क्षेत्रमा प्रयोग हूँदैन यही अवस्था रहीरहे अब सोलुखुम्बुले तरकारी उत्पादनको साख गुमाउने निश्चित छ, उनले भने । जिल्लाका अधिकांश उर्वरभुमि अहिले बाँझै छन् । काम गर्ने जनशक्ति नहुनु र व्यवसायी रुपमा तरकारी उत्पादन गर्नेको संख्या न्युन हुनु यसको कारक रहेको व्यवसायीहरु बताउँछन् ।
स्थानिय तहको प्राथमिकतामा कृषि परेपनी ९० प्रतिशत तरकारी बाहिरबाट आयात हुनु दुखद पक्ष रहेको स्थानिय सुरेश खड्काले बताए ।