२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

नेविसंघ सोलुद्वारा काठमाडौंमा अन्तरक्रिया, कसले के भने ?


१३ जेष्ठ २०८०, शनिबार  

336
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले भ्रष्टाचारविरुद्ध छानविन र कारबाही नगर्ने हो भने यो व्यवस्था नरहने बताएका छन् ।

नेपाल विद्यार्थी संघ सोलुखुम्बुले शनिबार काठमाडौंमा आयोजना गरेको ‘बदलिदो राजनीतिक परिस्थिति र नेविसंघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता शेर्पाले विष लागेको औँला झर्ने उखानलाई उदृत गर्दै भ्रष्टाचारविरुद्ध निर्मम नबने व्यवस्था नै संकटमा पर्ने बताएका हुन् । कांग्रेस नेता शेर्पाले श्रम बजारको माग अनुसार जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा नीति आजको आवश्यकता रहेको तर्क राखे ।

अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेतृत्वको अक्षमताका कारण कांग्रेसको भ्रातृ संगठन गतिहीन बनेको आरोप लगाए । उनले पार्टीलाई पुर्नजीवित राख्न पार्टी र सभ्रातृ संगठनमा गुट र व्यक्ति केन्द्रीत राजनीतिक संस्कार त्याग्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले स्ववियू निर्वाचनमा नेविसंघ पहिलो बनेको बारे चर्चा गर्दै नेविसंघको कार्यसमिति विस्तारको लागि नेतृत्वलाई दबाब दिदै आएको बताए । उनले यूवाहरुलाई स्वदेशमै रोक्ने अभियानमा सहयोग पु¥याउने डा. सन्दुक रुइतको जीवनी कक्षा १० को पाठ्यक्रमबाट हटाइएको बारे असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको समेत बताए ।

कोशी प्रदेश सांसद तथा कांग्रेस नेतृ डोल्मा तामाङले भ्रातृ संगठनले पूणता पाए मात्रै पार्टी थप गतिशील बन्ने बताइन् । कांग्रेसका नेता गणेश बस्नेतले नेकालिन फाइदा उठाएपनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

राजनीतिक विश्लेषक तथा कांग्रेस नेता शंकर तिवारीले कांग्रेसमा पुरानो र नयाँ पुस्ता बिचको संघर्ष कायम रहेको बताउदै सरकारमा बस्नेहरुले डेलिभरी दिनसके मात्रै जनताले विश्वास गर्ने बताए । काग्रेस नेता प्रमोदहरी गुरागाँइले लोकतन्त्रको विकल्प लोकतन्त्र भएको भन्दै पार्टीलाई बलियो बनाउन संगठन निर्माणलाई तिब्रता दिनुपर्ने बताए ।

कांग्रेस कोशी प्रदेश सदस्य गीता गुरुङले पुराना राजनीतिक दलप्रति देखिएको बृतिष्णाबाट जोगाउन नेविसंघमा आबद्ध विद्यार्थीहरुको समेत महत्वपूर्ण जिम्मेवारी रहेको बताइन् । नेविसंघका पूर्वकेन्द्रीय सदस्य नविन थापाले जिल्लाभर संगठन निर्माणलाई तिब्रता दिनुपर्नेमा जोड दिदैँ सेना विनाको सेनापति हुनबाट जोगिनुपर्ने बताए ।

नेविसंघका सोलुका अध्यक्ष नविन बस्नेतले आफू सबैलाई मिलाएर लाने पक्षमा रहेपनि एक पक्ष पार्टीको कार्यक्रमलाई उपस्थित नहुनु गलत भएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक कृष्ण प्रसाद निरौला, कांग्रेस सोलु प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङ, नेविसंघ सोलुका पूर्व अध्यक्ष बाबुराम आचार्यलगायतका नेता तथा काठमाडौंमा उपस्थिति नेविसंघ निकट विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  ९ : २४ बजे