सोलुखुम्बु । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा २ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघ अध्यक्ष र व्यवस्थापन समितिका महिला सदस्यहरु सहभागी तालिम वीरेन्द्रोदय मावि मुक्लीमा सुरु भएको छ ।
तालिमकोउद्घाटन गर्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले विद्यालयको शैक्षिक गुणस्तर सुधार्न समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले गुणस्तर सुधार गर्न विव्यस र शिअसंघलाई आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
सामाजिक विकास समिति संयोजक बुद्धिराज राईले नीजि विद्यालयमा थोरै सेवा सुविधाका बाबजुद पनि गुणस्तर राम्रो हुने तर राज्यको धेरै लगानी हुँदापनि सामुदायिक विद्यालयको गुणस्तर कम भएको बताउदै सबै पक्ष लागि परेर शैक्षिक गुणस्तर बढाउन जोड दिनु पर्ने बताए । शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले विद्यालय सुधारमा विव्यसको भूमिका महत्वपूर्ण भूमिका रहेको बताउदै विद्यालयको गुणस्तरमा जोड दिन आग्रह गरे ।
तलिमको उद्देश्य माथी प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले शिक्षाको गुणस्तर सुधारमा शिक्षक, अभिभावक, प्रध्यानाध्यापक, विद्यार्थी र समितिको भूमिका उत्तिकै महत्वपूर्ण हुने हुँदा विव्यस तथा शिअसंघको क्षमता अभिवृद्धि गर्न आवश्यक महसुस गरी तालिमको आयोजना गरिएको बताए ।
तालिममा विव्यस तथा शिअसंघको काम, कर्तव्य, अधिकार, नीतिगत शैक्षिक ऐन कानुन, विद्यालयको वर्तमान अवस्था बालमैत्री विद्यालयको अवधारणा, नेतृत्व विकास, द्वन्द व्यवस्थापन, सकारात्मक सोंच र कार्य योजना निर्माण लगायतका विषयवस्तु समावेश छ ।
तालिममा थुलुङ दुधकोशीका ४२ जना विव्यस तथा शिअसंघ पदाधिकारीको सहभागीता रहेको छ । सोही प्रकृतिको तालिम यसअघि लिखुपिके, सोलुदुधकुण्ड, महाकुलुङ र माप्य दुधकोशीमा पनि सञ्चालन गरिसकेको रीड नेपालले जनाएको छ ।