१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

ग्रिसमा हुने गल्स अपरच्युनिटी एलाइन्समा नेपालबाट सोनाम डोका शेर्पा सहभागी बन्दै


३१ जेष्ठ २०८०, बुधबार  

2.5k
Shares

काठमाडौं । ग्रिसको एथेन्समा आयोजना हुने गल्स अपरच्युनिटी एलाइन्समा नेपालको तर्फबाट द स्मल वर्ल्ड (टिएसडब्लु)का कार्यकारी निर्देशक सोनाम डोका शेर्पा सहभागी बन्ने भएकी छिन् । 

एलाइन्स जुन १९ देखि २२ सम्म हुनेछ । ओबामा फाण्डेशनको आयोजनामा हुन लागेको कार्यक्रममा भाग लिन शेर्पा जुन १९ मा ग्रिस प्रस्थान गर्दै छिन् । उनले नेपालको तर्फबाट वातावरणीय परिर्वतन (क्लाइमेट चेन्ज)ले नेपालमा परेको असर र महिलाको शिक्षामा परेको प्रभावबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा सामाजिक रूपान्तरणमा उदाहरणीय काम गर्दै आएका विश्वका प्रतिष्ठित महिलाहरूको सहभागिता रहनेछ । एलाइन्समा आ–आफ्नामा देशमा महिला सशक्तीकरण र महिला माथिको समस्या र समाधानका उपायबारे छलफल हुने बताइएकाे छ । 

कार्यक्रम अवधिभर अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र उनको जीवनसंगिनी मिशेल ओबामा पनि सहभागी बन्ने छन् । विश्वभरका किशोरीहरूलाई शिक्षित बनाउने लक्ष्यका साथ अघि बढेको फाउन्डेसनले नेपालमा पनि द स्मल वर्ल्ड (टिएसडब्लु)सँग मिलेर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ ।

को हुन् सोनाम डोका शेर्पा ?

सोनाम डोका शेर्पा, नेपालका बालबालिका र महिलाहरूको जीवन सुधार गर्न समर्पित गैर–लाभकारी संस्था द स्मल वर्ल्डका सह–संस्थापक हुन् । सोलुखुम्बुबाट आएकी सोनामले आफ्नो समुदायका मानिसहरूले दैनिक रूपमा सामना गर्ने सङ्घर्षको प्रत्यक्ष अनुभव छ । 

उनले सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै ‘दक्षता’नामक संस्थाले सन् २०२३ को ३० उदाहरणीय नेपाली महिलाको सूचीमा उनको नाम समावेश गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ०९ बजे