सोलुखुम्बु । सोलुखुम्बुका २७ जना गणित विषयका शिक्षकहरुलाई पेशागत विकास तालिम प्रदान गरिएको छ । १० दिन लामो तालिम सल्लेरी स्थित जनजागृती माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो ।
रीड नेपालको आयोजना तथा सोलुखुम्बु जिल्लाका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा तालिम केन्द्र सुनसरीको समन्वयमा सञ्चालित तालिम उपलब्धिमूलक बनेको सहभागी शिक्षकहरुले प्रतिक्रिया दिएका छन् ।
आइतबार तालिमको समापनमा सहभागी शिक्षकको तर्फबाट मन्तव्य राख्दै चिवाङ आधारभूत विद्यालयका प्रध्यानाध्यापक गिता बस्नेतले तालिम अतिनै प्रभावकारी भएको बताइन् । उनले भनिन्, ‘तालिममा आफुहरुले नयाँ नयाँ शिक्षण रणनीति तथा सामग्री निर्माण सिकेका छौँ । जुन कुरा निकै महत्वपूर्ण छ । सिकेका सीप विद्यालयमा लगेर लागु गर्नेछु ।’
पन्चकन्या आधारभूत विद्यालय पावैका शिक्षक कालिदास खड्काले विद्यार्थीले विभिन्न माध्यमबाट सिक्ने भएकोले आफुले गीत संगीतको माध्यमबाट सिकाउने गरेको अनुभव सुनाए । १० दिन बितेको पत्तै नभइ रमाइलो वातावरणमा तालिम सकियो । धेरै नयाँ सिप सिक्ने अवसर पाएको छु ।’उनले भने ।
तालिम समापनमा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले शिक्षण पेसा मर्यादित पेसा भएकाले शिक्षकले आफ्नो कला प्रयोग गरेर विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताइन् ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्यराज डङ्गोलले तालिममा सिकेका कुराहरु विद्यालयमा लागु गर्न आग्रह गरे । रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सहभागीलाई तालिममा देखाए जस्तै सक्रियता र जोश जाँगर विद्यालयमा पनि देखाउन आग्रह गरे । उनले टीपीडी तालिम अन्तर्गतको स्वअध्ययन खण्डलाई नियम अनुसार पुरा गर्न आग्रह समेत गरे ।
तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक सरद गौतम र सुजता राईले गरेका थिए ।