सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङमा पहिरोका कारण एक क्लवको भवन र दुई परिवार विस्थापित भएका छन् ।
सडक विस्तारको क्रममा बढ्दै गएको पहिरोका कारण लोदिङ सृजनशिल युवा क्लवको भवन र स्थानीय हस्त बहादुर विश्वकर्मा र शान्त विश्वकर्माको परिवार विस्थापित भएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए ।
निरन्तरको वर्षातसँगै सडकबाट सुरु भएको पहिरोले घर समेत तान्ने खतरा भएपछि वडाको पहलमा परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शेर्पाको भनाई छ ।

पहिरोले घर जोखिममा परेपछि विश्वकर्माद्वयको परिवारलाई तत्काललाई छिमेकीको घरमा आश्रय लिएर राखिएको छ । घर मुनीबाट खनिएको सल्लेरी–तामाखानी–पिके सडक मर्मतको क्रममा ठेकेदार कम्पनीले बस्तीको ख्याल नगर्दा आफ्नो बास नै उठेको पीडित हस्त बहादुर विश्वकर्माले गुनासो गरे ।
पहिरोको जोखिम रहेको सो स्थानमा सडक चौडा गर्ने क्रममै कम्पनीलाई सचेत गराएको भएपनि ठेकेदारले मनोमानी डोजर चलाउँदा विपत्ती आईलागेको अर्का पिडीत शान्त विश्वकर्माको गुनासो छ ।

विस्थापित परिवारलाई वडा कार्यालयले राहत स्वरुप पाल र बाल्टिन प्रदान गरेको छ । यता प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले पहिरो रोकथाम तथा पीडितको मागलाई सम्बोधन गर्न पुर्वाधार विकास कार्यालय ओखलढुंगालाई निर्देशन दिए ।