२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

के सपना रोका मगर विदेश जाँदैछिन् ?


११ श्रावण २०८०, बिहिबार  

0
Shares

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना रोका मगर तब चर्चामा आइन्, जब सन् २०२० मा ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को १०० प्रभावशाली महिलाको सूचिमा परिन् ।

नेपालमा ‘अन्तिम दागबत्ती’ पुरुषले दिने प्रचलन छ । महिलाले शव जलाउन त के छुनसम्म पनि हुँदैन भन्ने भेदभावपूर्ण मान्यता तथा परम्पराको कडी उनको कर्मले तोडेको छ ।

सामान्य किसान परिवारमा हुर्किएपनि घरकी कान्छी छोरी सपनाका लागि भने कुनै कमि थिएन । आमाबुवाले हरेक इच्छा–आकांक्षा पुर्याइदिने हुँदा उनी निकै पुल्पुलिएकी थिइन् । उनले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयबाट एसईई दिइन् ।

एसईई पास भएपछि सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन् । पढाइमा अब्बल सपनाको संसार नबन्दै त्यहीँबाट भत्किन सुरु भयो । साथी संगतले उनी लागुऔषध दुर्व्यसनीतर्फ लागिन् । दुर्व्यसनीले सडकमा ल्याइपुर्यायो ।

करिब दुई÷तीन महिनाको सडक बसाईँपछि आफैँसँग ‘सही गन्तव्य चुन्ने, बाटो नबिराउने’ बाचा गरी घर फर्किने हिम्मत जुटाइन् सपनाले । आमाबुवाले पनि विश्वास गरे र उनको सपनालाई साथ दिँदै जापानी भाषा पढाए । तर जापान जाने उनको प्रयास सफल भएन ।

परिवारको सल्लाहमा काठमाडौं आएकी उनको एकदिन विनयजंग बस्नेतसँग भेट भयो । सपनाको समाजसेवा गर्ने ‘सपना’ लाई उनैले मलजल गरिदिए । अनि उनैले डोर्याएको समाजसेवाको यात्रामा निरन्तर अघि बढिरहिन् सपना ।

पहिलो पटक पशुपति आर्यघाटमा शव जलाउँदा उनी १७ वर्षकी थिइन् । अहिलेसम्म उनले सयौँ बेवारिसे शवलाई दागबत्ती दिइसकेकी छिन् । राज्यले भने अझैपनि सपनाको कामलाई सघाउन त परै जाओस् ‘सलाम’ मात्रै गर्नसम्म सकेको छैन ।

आफ्नो दायित्व त राज्यले बोक्न सकेको छैन नै, राज्यको दायित्व बोक्नेलाई स्याबासी समेत दिन कन्जुस्याइँ गरिरहेका छन् सत्तासीनहरू । यद्यपी पछिल्लो पटक पर्यटनमन्त्री सुदन किराँतीले बोलाएर पछिल्लो आफ्नो अवस्थाबारे बुझ्ने काम भएको उनले बताएकी छिन् ।

पछिल्लो समय वेबारिसे शव जलाउँदा लाखौँ ऋण लागेको भन्दै साउदी जाने तयारी गरेको समाचार सार्वजनिक भएको थियो । तर आफ्नो कामलाई राज्यले साथ दिए नेपालमै बसेर शव व्यवस्थापनलाई निरन्तरता दिने उनले बताएकी छिन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ८ : ५२ बजे