७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

कृषि उपज बजारीकरणका लागि थुलुङ दुधकोशी र रैथाने एग्रो प्रडक्टसबीच एमओयू


२७ श्रावण २०८०, शनिबार  

46
Shares

काठमाडौं । रैथाने उत्पादनलाई थप व्यवसायीक बनाउने र बजारको समेत व्यवस्थापन गर्ने हेतुले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले रैथाने एग्रो प्रडक्टस् नेपालसंग सम्झौता (एमओयूं) गरेको छ । शनिबार काठमाडौंको दरवारमार्गस्थित ओरियन्ट क्याफेमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राई र रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार रैथाने एग्रो प्रडक्टस् नेपालले थुलुङदुधकोशी गाउँपालिकामा स्थानीयस्तरमा उत्पादन हुने आलु लगायत विभिन्न तरकारी तथा नगदेबालीहरुको वृहत उत्पादनमा कृषकहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नेछ । उत्पादित बस्तुलाई बजारीकरणका लागि गाउँपालिकासंग समन्वय गर्ने, त्यहाँ उत्पादित बस्तुहरु खरिद गरि विक्री वितरण गर्ने जस्ता कार्य पनि दुई पक्ष बीच भएको सम्झौतामा उल्लेख छ ।

थुलुङदुधकोशी गाउँपालिकाको उत्पादन दरवारमार्गकै ओरियन्ट क्याफेमा हाट बजारको रुपमा विक्रीमा राखिएको छ । हरेक शनिबार विहान ६ बजे देखि १२ बजेसम्म क्याफेको हलमा बजार लाग्नेछ । जहाँ आलु, सागसब्जीदेखि रैथाने गेडागुडी, दाल, अचार, सातु, पीठोहरु उपलब्ध छन् । गाउँपालिकाले कृषकसंग संकलन गरि काठमाडौँ ल्याएर रैथाने एग्रो प्रडक्टस् नेपालसंग विक्री गर्दै आएको छ । ढुवानी खर्च गाउापालिकाले नै व्यहोर्ने भएकाले सोलुकै मुल्यमा (खुला बजारभन्दा सस्तो) विक्री भइरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

कार्यक्रममो बोल्दै रैथाने एग्रो प्रडक्टस् नेपालका अध्यक्ष तिलक ढकालले स्थानीय तहले रैथाने उत्पादनलाई यति धेरै महत्व दिएकोमा थुलुङदुधकोशी गाउँपालिकालाई धन्यवाद व्यक्त गरे । गाउँको कृषि उपजलाई काठमाडौंसम्म ढुवानीका लागि थुलुङदुधकोशीले कृषि एम्बुलेन्स नै खरिद गरेको छ । उक्त सवारी साधनले कृषकको घरघरमै गएर कृषकको उत्पादन संकलन गरि काठमाडौं ल्याउने गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ३० बजे