सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा रहेको बसपार्क स्तरोन्नति गरिने भएको छ । त्यसको लागि सर्भे गरिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ५ मा रहेको बसपार्कको स्तरोन्नतिका लागि शहरी सघन विकास तथा भवन कार्यालय ओखलढुङ्गाले सर्भे सम्पन्न गरेको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । सर्भेमा उपमेयर गान्धी माया तामाङको समेत उपस्थिति रहेको थियो ।
छोटो दुरीको यातायात सञ्चालन तथा व्यवस्थापनका लागि बसपार्कको स्तरोन्नति गर्न लागिएको मेयर शेर्पाको भनाइ छ । बसपार्क स्तरोन्नतिका लागि सोलुदुधकुण्ड नगरपालिकाको पहलमा शहरी विकास मन्त्रालयले १ करोड बजेट बिनियोजन गरेको छ । निकट भविष्यमै टेन्डर प्रक्रिया सुरु गरिने छ ।
सोलुदुधकुण्ड ४ फाप्लुमा निर्माणाधिन बसपार्क लामो दुरीमा छुट्ने सवारीका लागि प्रयोगमा ल्याइनेछ भने सल्लेरीको बसपार्क छोटो दुरीमा चल्ने सवारीका लागि प्रयोगमा ल्याइनेछ ।