काठमाडौं । गीतकार उपचार कोष सहयोगार्थ गीतकार संघ नेपालले यहि भदौ १ गते शुक्रवार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष सांगीतिक कार्यक्रम आयोजना गर्दैछ ।
नेपाली गीति लेखनमा यहाँ सम्म ल्याइ पुर्याउने र यहाँबाट अगाडि लानु हुने तमाम गीतकार स्रष्टाहरुको छाता संगठन गीतकार संघ नेपालले नेपाली गीत लेखनमा पुर्याएको योगदानलाई कदर गरी गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुको गीत प्रत्यक्ष बाजामा प्रस्तुत गरी नेपाली गीत लेखनमा योगदान पुर्याउने तमाम गीतकारहरुको लागी गीतकार उपचार कोष सहयोगार्थ ‘गीतकार सांगीतिक कार्यक्रम’ आयोजना गर्न लागिएको गीतकार संघ नेपालका महासचिव टिका राई ‘शिव’ले बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख अतिथ्यतामा सम्पन्न हुन गईरहेको उक्त विशेष सांगितिक कार्यक्रममा गीतकार संघ नेपालबाट राष्ट्रिय श्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरुका गीतहरु प्रत्यक्ष बाजा सहित लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले बताए ।
विशेष सांगितिक कार्यक्रमा रत्न शम्शेर थापाद्धारा रचित दुई गीत जाग लम्क चम्क, ए कान्छा ठट्टैमा, किरण खरेलको बसन्त नै बस्न खोज्छ यहाँ, यादव खरेलको गैरी खेतको, भैरवनाथ रिमाल ‘कदम’को जुन फूल मैले, उदास मेरो जीवन, नगेन्द्र थापाको चिनारी हाम्रो, राजेन्द्र थापाको पोहोर साल खुसी फाट्दा, प्रेम विनोद नन्दनको ज्यानको माया नैना रेशम, विश्व बल्लभको भाग्यले खुसी, शिवशंकर थापाको भन्थिन् मेरी उनी, दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार बोलका गीतहरु प्रत्यक्ष बाजा सहित नेपाली सुगम संगीतका लोकप्रिय तथा प्रतिभाशाली गायक गायिकाहरुले गाउने अध्यक्ष थापाले जानकारी दिए ।
नेपाली गीति लेखनमा योगदान पुर्याउने गीतकारहरुको सम्मान तथा गीतकार उपचार कोष सहयोगार्थ आयोजना हुन गइरहेको उक्त विशेष सांगितिक कार्यक्रममा नेपाली गीत संगीतको क्षेत्रमा आवद्ध हुनु हुने विभिन्न सरकारी निकाय, संघसंस्था, गीत, संगीतप्रेमीहरु तथा संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरुलाई आफ्नो स्वइच्छाले टिकट खरिद गरि वा कार्यक्रममा उपस्थिति जनाई उक्त सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न गर्न गीतकार संघ नेपालले अनुरोध गरेको छ ।