१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

मेयर शेर्पाको ‘क्लिन एण्ड ग्रीन म्यूनिसिपल’ अभियान सफल हुदै



सोलुखुम्बु । सोलुखुम्बुको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकामा नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले करिब छ वर्षअघि शुरु गरेको ‘सफा र हरियाली नगर’ ‘क्लिन एण्ड ग्रीन म्यूनिसिपल’ अभियानले पछिल्लो समय सार्थकता पाउँदै गएको छ ।

नगर प्रमुख शेर्पाको नेतृत्वमा २०७४ साल भदौमा शुरु भएको सरसफाई सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बजारक्षेत्रका तत्कालीन जनप्रतिनिधिहरु, सरकारी तथा गरसरकारी संस्थाका प्रमुख, सरकारी कर्मचारी तथा विशेष गरी स्थानीय अगुवाहरुकोे सहभागितामा प्ले कार्ड सहित नगररबासीलाई आफ्नो घर वरिपरी सफा राख्न माइकिङ गर्दै शुरु भएको अभियानले दोस्रो कार्यकालमा झनै तीव्रता पाएपछि नगरपालिकाको बजार क्षेत्र सुन्दर बन्दै गएको हो ।

हिमाली पर्यटनका हिसाबले विश्वामु परिचित सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा आफूले चुनावको समयमा नगरपालिकालाई सफा सुन्दर बनाउने उद्घोष गरेअनुसार अभियानलाई सार्थक बनाउन सिङ्गो नगरपालिका लागि परेको मेयर शेर्पाले बताए ।
“हामीले नगरबासीलाई जनचेतना जगाउँदै ढल व्यवस्थापन, अव्यवस्थित घर टहरा हटाउने, नेपाल टेलिकम तथा अन्य इन्टरनेट सेवा प्रदायक संस्थाहरुको पोल तथा तार व्यवस्थापन, बजार क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका सामग्री व्यवसथापन, वृक्षारोपण तथा निःशुल्क वितरण, फोहोर व्यवस्थापन, ग्यारेज हटाउने, बद्यशाला तथा मासु पसल व्यवस्थापन, वर्षौदेखि छरपष्ट रहेका वियरका बोतल व्यवस्थापन तथा प्रतिबन्ध, प्लाष्टिक प्रयोगमा प्रतिबन्ध, सडक बत्तीको व्यवस्था लगायत धेरै काम ‘क्लिन एण्ड ग्रीन म्यूनिसिपल’ बनाउने क्रममा गरेका छौँ” मेयर शेर्पाले भने।

पछिल्लो समय बजार क्षेत्रको व्यवस्थापन तथा सरसफाइले तीव्रता पाएको भन्दै यस कार्यमा समग्र कर्मचारी तथा अन्य सरोकारवालाहरुको अहोरात्र खटाइले बजार सफा तथा व्यवस्थित बन्दै गएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताईन्।

नगरको अभियान सफल पार्न टोल सुधार समितिलाई सक्रिय बनाउँदै सम्पूर्ण बजार क्षेत्रमा फोहोर व्यवस्थापन, वृक्षारोपण तथा वातावरणीय सरसफाईका क्षेत्रमा काम गरिरहेको वातावरण शाखाका कर्मचारी मुना खत्रीले बताईन।

बजाार व्यवस्थापनका अधिकांश काम नगरपालिकाको निर्देशनमा नगर प्रहरीले गरिरहेको सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रहरी प्रमुख ङवाङठिले शेर्पाले बताए। अन्य व्यवस्थापनका कामसँगै तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिए । यस कार्यमा छिटपुट बाहेक स्थानीयको समेत सहयोग रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : २२ बजे