१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

एमाले नेता पन्तको अभिव्यक्तीविरुद्ध शेर्पा विद्यार्थीले विरोध सभा गर्ने



काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले शेर्पा समुदायविरुद्ध दिएको अभिव्यक्तीको विरुद्धमा नेपाल शेर्पा विद्यार्थी संघले विरोध सभा र धर्ना कार्यक्रम गर्ने भएको छ ।

२०७८ पुस १९ गते काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघको कार्यक्रममा एमाले नेता पन्तले शेर्पा जातीप्रति दिएको अभिव्यक्ती खेदजनक भएको भन्दै शेर्पा विद्यार्थीहरु सडकमा उत्रन लागेका हुन् । आगामी विहीबार भदौ ७ गते माइतीघर मण्डलामा विरोध सभाको आयोजना गरिएको छ ।

नेपाल शेर्पा विद्यार्थी संघ, संघर्ष समिति संयोजक फूर्वा छिरिङ शेर्पाका अनुसार शेर्पा जातीलाई हेपेर दिएको अभिव्यक्ती सच्याउन र माफीको माग गर्दै सडकमा उत्रन लागिएको हो । विरोध सभामा ऐक्यबद्धता जनाका लागि सम्पूर्ण शेर्पा संघसंस्थालाई पत्राचार गरिसकिएको शेर्पाले जानकारी दिए ।

पन्तले सामाजिक सञ्जालमा भाइरल भिडियोमा तेन्जिङ नोर्गेले सगरमाथा चढेपछि शेर्पा जाती अस्तित्वमा आएको लगायतका हलुका टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४० बजे