काठमाडौं । दुधकोशी नदिमा आएको बाढीले दिप्लीघाटको बेलिब्रिज बगाएपछि तत्काल समस्या समाधानका लागि सोलुखुम्बुका तीन पालिका अध्यक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षण गराएका छन् ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको नेतृत्वमा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ, सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका प्रवक्ता भोजराज कार्की, समाजसेवी बलराम गुरुङ सहभागी टोलीले सोमबार प्रधानमन्त्रीलाई भेट गरि तत्काल बेलिब्रिज निर्माणका लागि निवेदन हस्तान्तरण गरेका छन् ।
माग निवेदन ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले तत्काल भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फोन गरि यथासिघ्र पुल निर्माण गरि समस्या समाधान गर्न निर्देशन दिएको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको सचिवालयले जनाएको छ ।
सोमबार नै प्रधानमन्त्री कार्यालयबाट भौतिक पुर्वधार मन्त्रालयमा पठाएको पत्र बुझाइएको छ भने सो मन्त्रालयबाट समेत सम्बन्धित कार्यालयलाई तोक आदेश भएको सचिवालयले जानकारी दिएको छ । शुक्रबार दुधकोशी नदिमा आएको बाढीले थुलुङ दुधकोशी गाउँपालिका क्षेत्रको भाग कटान गर्दा बेलिब्रिजको पिल्लरका साथै निर्माणाधिन पुलको कामका लागि राखिएको स्काभेटर लगायतका निर्माण सामग्री बगाएको थियो ।
बेलिब्रिजमा क्षति पु¥याएपछि सोताङ र महाकुलुङ क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । जसले दुधकोशी पारीका सर्वसाधारण समस्यामा परेका छन् । सोही समस्यालाई मध्यनगर गर्दै आइतबार जिल्लाका सुरक्षा निकायका प्रमुख र प्राविधिकसहित थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले दिप्लीघाटको अनुगमन गरेका थिए । दुधकोशी पारीका सर्वसाधारण र यातायात व्यवसायीको गुनासो सम्बोधन गर्नका लागि रातारात काठमाडौं आएका अध्यक्ष राईले सोताङ र महाकुलुङ पालिकाका अध्यक्षलाई समेत लिएर प्रधानमन्त्रीलाई भेटेका हुन् ।
शनिबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाको टोली समेत दिप्लीघाटको अवस्था अनुगमनमा पुगेको थियो ।