सोलुखुम्बु । लामो समयदेखि सोलुखुम्बुको शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था रीड नेपालले आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकामा संचालित कार्यक्रमको समीक्षा बैठक सोताङ र माप्य दुधकोशी गाउँपालिकामा सम्पन्न गरेको छ ।
सोताङ गाउँपालिकामा पालिका अध्यक्ष खिलाराज बस्नेतले कार्यक्रमलाई थप बढाउन आग्रह गर्दै अंग्रेजी माध्यमको शिक्षक तालिम संचालनको माग गरे । विहीबार सम्पन्न बैठकमा पालिका उपाध्यक्ष अन्जु नाछिरिङ, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, शिक्षा शाखा लगायत अन्य शाखा प्रमुख, प्रध्यानाध्यापकहरुको उपस्थिति रहेको थियो । बैठकमा गत आर्थिक वर्षमा सम्पन्न वार्षिक कार्यक्रम तथा आगामी कार्यकमको प्रस्तुति रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतमले गरेका थिए ।
त्यस्तै, माप्य दुधकोशी गाउँपालिकामा पालिका अध्यक्ष बुद्धिकिरण राईको ध्यक्षताम बैठकमा सम्पन्न गरिएको छ । अध्यक्ष राईल रीडको कार्यक्रम पहिलेदेखि नै पारदर्शी हुने बताउदै अन्य संघ सस्थालाई पनि रीड नेपालबाट सिक्न आग्रह गरे । उनले पालिकाको शैक्षिक सुधारमा रीड नेपालको योगदान महत्वपूर्ण रहेको बताए ।

गत वर्ष रीड नेपालले ५ दिने अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयको तालिम, ५ दिने प्रारम्भिक बाल विकास शिक्षक तालिम, दुई दिने प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति र अभिभावक अभिमुखीकरण, बाल क्लब परिचालन तथा अभिमुखीकरण कार्यक्रम, शैक्षिक सामग्री तथा विद्यार्थी मूल्यांकन फारम वितरण लगायतका कार्यक्रम संचालन गरेको थियो भने यो वर्षमा पनि केही कार्यक्रमलाई निरन्तरता दिदै आइसीटि तालिम लगायत थप शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए । रीड नेपालले माप्यमा २० ओटा विद्यालय र सोताङमा ७ ओटा विद्यालयमा काम गरिरहेको छ ।