१ जेष्ठ २०८२, बुधबार | Thu May 15 2025

वक्तृत्वकला र निबन्धमा सपना र स्वस्तिका उत्कृष्ट, मेयर शेर्पाले गरे बालबालिकासँग अन्तरक्रिया


२९ भाद्र २०८०, शुक्रबार  

218
Shares

सोलुखुम्बु । शुक्रबार सोलुखुम्बुको सल्लेरीमा आयोजित माध्यमिक तह वक्तृत्वकला र आधारभूत तह निबन्ध लेखन प्रतियोगीतामा सपना बस्नेत र स्वस्तिका राई प्रथम भएका छन् ।

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’राष्ट्रिय नारासहित ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा रीड नेपाल र सोलुदुधकुण्ड नगरपालिकाको संयुक्त आयोजना भएको कार्यक्रममा माध्यमिक तह वक्तृत्वकला तर्फ गार्मा माविकी सपना बस्नेत प्रथम बनेकी हुन् । प्रतियोगीतामा बालेश्वर माविका कान्छीमाया शेर्पा द्धितीय, चाँगेस्थान माविकी उर्मिला श्रेष्ठ तृतीय र जनजागृती माविकी जानुका लामिछाने सान्त्वना भएकी छिन् ।

आधारभूत तह निबन्ध लेखन प्रतियोगीतामा ह्वाइहिल्स बोर्डिङकी स्वस्तिका राई प्रथम हुँदा गार्मा माविकी आशिका कुलुङ द्धितीय, भिमसेनस्थान माविकी गोमा भूजेल तृतीय बनेकी छिन् । प्रतियोगीतामा जनजागृती माविका मिलन राई सान्त्वना भएका छन् ।

प्रतियोगीताका विजेतालाई क्रमशः प्रमाणपत्रको साथमा ८ हजार, ६ हजार, ४ हजार र ३ हजार प्रदान गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

बाल दिवसकै अवसरमा ‘बालबालिकासँग मेयर’विषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । रीड नेपालका शिक्षा विकास संयोजक गिरीले सहजीकरण गरेको कार्यक्रममा नगर क्षेत्रका बालबालिकाले विद्यालयगत समस्या समाधान र बालबालिकाको शिर्षकमा विनियोजन बजेट खर्च प्रक्रियाको विषयमा जिज्ञासा राखेका थिए ।

बालबालिकाले छात्रामैत्री शौचालय, खेलमैदान, खानेपानी र कक्षाकोठा व्यवस्थापन, बालमैत्री विद्यालय, विद्यालय घेराबार लगायतका जिज्ञासा राखेका थिए । जवाफमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले शिक्षा क्षेत्रको संरचनागत सुधार र गुणस्तर सुधारमा काम गरेको बताउदै मेयर शेर्पाले बालबालिकाले उठाएको सवाल व्यवस्थापनमा विद्यालय व्यवस्थापन समिति र प्रध्यनाध्यापकलाई ध्यानाकर्षण गराउने जवाफ दिए ।

कार्यक्रममा नगरका उपमेयर गान्धीमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, शिक्षा शाखा प्रमुख सन्तोष राउत लगायत नगरका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ०७ बजे