२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

रीड रिपोर्ट : सोलुदुधकुण्डका १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि


३१ भाद्र २०८०, आइतबार  

296
Shares

सोलुखुम्बु । रीड नेपालले शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको सोलुदुधकुण्ड नगरपालिकाको १९ सामुदायिक विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि भएको छ । रीड नेपालले आईतबार सल्लेरीमा सरोकारवालाहरुलाई प्रस्तुत गरेको समिक्षा रिपोर्टमा शैक्षिक सत्र २०७८ को तुलनामा २०७९ मा ३.५२ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि भएको उल्लेख छ ।

सोलुदुधकुण्ड नगरपालिका भित्रका ६२ सामुदायिक विद्यालय मध्ये रीडले १९ वटा विद्यालयमा काम गर्दै आएको छ । रीडले गार्मा मावि गार्मा, सिंहकाली मावि, बरबोट आवि तिङ्ला, पिके मावि लोदिङ, बालेश्वर मावि घुन्सा, चाँगेस्थान मावि केरुङ, जनप्रिय मावि टाप्टिङ, दुधकुण्ड हिमालय आवि फाप्लु, जनजागृति आवि सल्लेरी, जनसुधार आवि खोरिया, सेकार्सिङ आवि सेकार्सिंङ, पत्ताले आवि पत्ताले, महेन्द्र ज्योति आवि बेलीडाँडा, विश्व वाङक्षु दर्शन आवि केरुङ, सिंहकाली आवि केरुङ, सिंहकाली आवि तिङला, गोराखानी आवि गोरा, फतान्जे आवि फतान्जे र सिसाखोला आवि सिसाखोलामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

रीडले गत आर्थिक वर्ष नगरपालिकाका १३७ जना शिक्षकलाई विभिन्न तालिम, २९ जनालाई छात्रवृत्ति र ४५ जना विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिम प्रदान गरेको छ । यस्तै ७४३ जना अभिभावक, ३९० जना बाल क्लवका पदाधिकारी र ४५५ जनालाई विद्यालय प्रोफाईल निर्माण सम्बन्धिको तालिम प्रदान गरेको रीडको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ५ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा विस्तार र ८८३ जनालाई विद्यार्थी सिकाइ मुल्यांकन फारम वितरण गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिए ।

गत आर्थिक वर्षमा सोलुदुधकुण्डका विद्यालयमा ३२ लाख बराबरको विद्यालय सामग्री वितरण गरिएको छ । कार्यक्रममा मेयर नाम्गेल जाङबु शेर्पाले शैक्षिक उपलब्धिका लागि धन्यवाद दिदै अन्य विद्यालयले पनि सिमित स्रोतसाधनलाई सदुपयोग गर्दै सुधारका काम गर्न आग्रह गरे । उपमेयर गान्धीमाया तामाङले रीडले गुणस्तर सुधारका लागि गरेका कामको प्रभावकारीता उपलब्धिले देखाएको भन्दै निरन्तरतामा जोड दिइन् । प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बाँकी विद्यालयमा पनि स्रोतले भ्याएसम्म सहकार्य र समन्वय गर्दै जाने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : ४३ बजे