१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

थुलुङ दुधकोशीका १५ विद्यालयको सिकाइ उपलब्धि ८.३५ प्रतिशतले वृद्धि


१ आश्विन २०८०, सोमबार  

108
Shares

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका आधारभूत तह (कक्षा १–८)का १५ विद्यालयको औसत सिकाइ उपलब्धि ८.३५ले वृद्धि भएको छ । 

शैक्षिक सत्र २०७८ मा ५५.०२ प्रतिशत औसत सिकाइ उपलब्धि रहेको ती विद्यालयमा गत शैक्षिक सत्र २०७९ मा ८.३५ ले वृद्धि भई औसत सिकाइ उपलब्धि ६३.३५ पुगेको सोमबार मुक्लीमा आयोजित समीक्षा कार्यक्रममा रीड नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

रीड नेपालले थुलुङ दुधकोशीमा जीवन ज्योति मावि नेले, जीवन ज्योति मावि कांगेल, कांगेल आवि कांगेल, ठकुमाला आवि कांगेल, नेले आवि जोगरा, कालिकादेवी मावि पञ्चन, वीरेन्द्रोदय मावि मुक्ली, सरस्वती आवि मुक्ली, मुक्ली आवि बर्खुघाट, त्रिभुवन आवि मैदेल, हिमालय मावि जुबु, जनकल्याण मावि जुबु, जनसेवा मावि र जनता मा वि लोखिम, देउसा मावि देउसामा काम गरिरहेको छ । 

रीड नेपालले अघिल्लो वर्ष काम गरेको शैक्षिक गतिविधिहरू प्रस्तुत गरेको थियो । रीडले १३८ जना शिक्षक, ३२३ अभिभावक, आमा समूहका ५१ जना, बाल क्लबका १५६ र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारी ४२ जना र ३८ प्रधानाध्यापकलाई तालिम प्रदान गरेको जनाएको छ ।

समीक्षा गोष्ठीमा बोल्दै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राईले सिकाइ उपलब्धि वृद्धि भएकोमा खुसी व्यक्त गर्दै विद्यालयलाई बधाई तथा रीड नेपाललाई धन्यवाद दिए । विद्यालयलाई थप मेहनत गरेर यो वर्षको सिकाइ उपलब्धिलाई पनि वृद्धि गर्न आग्रह गरे । गत वर्ष पालिकाले रीड नेपालसँग सहकार्य गरेर महत्त्वपूर्ण क्रियाकलाप सञ्चालन गरेको स्मरण गराउँदै यो वर्ष पनि सहकार्य गरेर अगाडी बढ्ने र  शैक्षिक गुणस्तर वृद्धिका लागि कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउँदै अध्यक्ष राईले आ–आफ्नो जिम्मेवारीको बहन गर्दै सरोकारवालालाई कर्तव्यनिष्ठ भएर शैक्षिक गुणस्तर वृद्धिमा एकजुट हुन निर्देशन दिए ।

गोष्ठीमा पालिका उपाध्यक्ष सबिता राई, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामी, रीड नेपालका शिक्षा विकास अधिकृत अभिषेक विक्रम शाह, पालिकाका शाखा प्रमुखहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो । समीक्षा गोष्ठीको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले गरेका थिए । रीड नेपालले शिक्षक तालिम, अभिभावक अभिमुखीकरण, सामग्री वितरण, छात्रवृत्ति वितरण, बाल क्लब परिचालनलाई यो वर्ष पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ५ : ०८ बजे