प्रधानमन्त्री ज्यु नमस्कार ।
सरकारले संसदमा दर्ता गराएको संघीय शिक्षा ऐन विधेयक २०८० अनुसार म एक सामुदायिक विद्यालयकाे साधारण शिक्षक हुँ । म अध्यापनरत विद्यालयमा ग्रामीण क्षेत्रका हुँदाखाने परिवारका विद्यार्थीहरू मात्र पढिरहेका छन् । उनीहरूका अभिभावक खाडी मुलुकमा विदेशी पैसासँग नेपाली पसिना साँटिरहेका छन् । पश्चिम नेपालकाे नागरिक पूर्वी नेपालमा आएर शिक्षण गर्दैगर्दा आर्थिक संकट व्यवस्थापन गर्न नसकिने निष्कर्षमा पुगेको म लगायत संघीय शिक्षा ऐन विधेयक २०८० संसदमा दर्ता भएपछि देशको शैक्षिक परिस्थिति देखेर एकाएक लाखौंलाख शिक्षककाे मनमा राष्ट्रप्रति उदासीन र क्रूद्ध भावहरू उद्वेलित भएका छन्।
सुनेको छु । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा ेपाल सरकारा वरिष्ठतम् सचिव, विषय विज्ञकाे उपस्थिति रहन्छ रे ? वि.सं. २०२८ सालमा राजा महेन्द्रले शिक्षा ऐन २०२८ जारी गर्दा सडकमा देखिएको दिप प्रज्वलन र संघीय शिक्षा ऐन २०८० संसदमा पेश मात्रै हुँदा सडकमा देखिएको बन्द हडतालकाे कालो झण्डाले के संकेत गर्दछ ? समयगत विकासीय अवस्था, मानसिकता र आवश्यकतालाई तुलनात्मक विश्लेषण गर्ने ती विज्ञकाे विज्ञता र हैसियत पुग्छ कि पुग्दैन ? हेक्का रहोस् ! तपाईंको विगत पनि शिक्षण पेसा नै थियोे ।
हिजो राजालाई क्रूर शासकको संज्ञा दिदै राजतन्त्रप्रति क्रुद्ध भइ शिक्षक विद्यार्थी उचालेर जनयुद्धको रक्ताम्य खोलाकाे जगमा जन्मेका सयौं माफिया महाराजाधिराज पालनपोषण गर्नसक्ने राज्यले एक शिक्षककाे पेसागत सेवा, सुविधा र मर्यादालाई निचाेरेर, हातखुट्टा बाँधेर, थाप्लोमा पेसागत अमर्यादित सङ्काेच बोकाएर न खान पुग्ने न मेटाउने पेटकाे भोकलाई अभावकाे पीडाले डिप्रेसन र एन्जाइटीकाे शिकार बनाएर मलाई कक्षाकोठामा नपठाइयाेस् । यसरी म थिचाेरिदा, निचोरिदा शान्त सौहार्द कक्षाकोठाका प्रत्येक भित्ता – भित्तामा समेत आन्दोलन शब्द मात्रै देखिरहेको छु ।
पाठ्यपुस्तकका प्रत्येक पाना-पानामा `शिक्षा´शब्द जलिरहेकाे आभास भइरहेको छ । एक हातमा शैक्षिक आन्दोलनका काला झण्डाहरू र अर्को हातमा आगोका लप्काहरू समाएकाे विद्रोही चेत बोकेका अक्षरहरूकाे दृश्य आँखामा मञ्चित भरहेको छ । िक्षण गराइने आन्दोलनको इतिहास, उपलब्धि र त्यसको रक्षा प्रतिरक्षाकाे र लेख्न लगाइने छ गृहकार्यका रूपमा `शैक्षिक अवस्था र व्यवस्था बदल्न हामीले के कस्ता आन्दोलन गर्न सक्छौ चरणगत बुँदाहरू लेख्नुहाेस्´ । प्रयोगशाला बन्नेछन् कक्षाकोठाहरू र उत्पादित हुनेछन् हतियारधारी राता आन्दोलनकारीहरू ।
विकल्प खोज्दा व्यवस्था र अवस्था परिवर्तनको चल्नेछ भागदौड भ्रष्ट माफिया दुष्ट अपराधीको । एउटा पूर्व शिक्षककाे हैसियतले शिक्षकको गरिमा सम्झिनुहोस् । आफूलाई राष्ट्रनायक, युगपुरूष भन्न रूचाउनेले युग सुहाउँदो शिक्षालाई उच्च सम्मानित र मर्यादित पेसाको रूपमा सूसुचित गर्नुहोस् । शिक्षक अमृत बनी प्रत्येककाे मन मस्तिष्कमा बसेर मोक्ष प्राप्ति गर्न सघाउन पनि सक्छ, विद्राेही चेत बोकेको अग्नि झिल्काे बनेर शैक्षिक माफियाहरूलाई नष्ट गर्न पनि सक्छ ।अन्यथा शिक्षककाे मानमर्दनमा आँच आउने गरि नजिस्काउनु हुन विनम्र अनुरोध गर्दछु ।
शिक्षक पदम शाही
पचालझरना – ८ भिट्टा कालिकोट
गंगोदय माध्यमिक विद्यालय, रावावेसी – ५ दुबेकोल खोटाङ
मिति : २०८०/०६/०२