सोलुखुम्बु । नेचासल्यान गाउँपालिका ३ मा सञ्चालित हिमाल दर्शन माध्यमिक विद्यालयले ‘विद्यार्थी सहायता कोष’सञ्चालनको तयारी गरेको छ । विद्यालयमा अध्ययन गर्ने, दीर्घ रोगबाट ग्रसित बनेर लामो समय उपचाररत हुनुपर्ने र सो समयमा अपेक्षाकृत सहयोग गर्न नसकिएको र सो समस्या सहजीकरणका लागि हिमाल दर्शनले ‘विद्यार्थी सहायता कोष’सञ्चालनको अन्तिम तयारी गरेको छ ।
‘जन्मदिनमा मेरो लगानी, कल्याणकारी कार्यको थालनी’नारा दिइएको कोषको ‘विद्यार्थी सहायता कोष निर्देशिका २०८०’समेत तयार पारिएको विद्यालयका प्रधानाध्यापक अशोक कुमार शर्माले जानकारी दिए । कोषमा हिमाल दर्शनमा अध्ययनरत विद्यार्थीको जन्मदिनको अवसरमा कम्तीमा एक सय रुपैयाँ, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, जग्गादाता, चन्दादाता, जनप्रतिनिधि लगायतका सरोकारवालाहरुबाट दैनिक एक रुपैयाँ बर्षमा कम्तीमा ३६५ रुपैयाँ र त्यसभन्दा माथी स्वऐच्छिक कोषमा जग्गा गर्ने व्यवस्था मिलाइएको छ ।
कक्षा ४ देखि १२ सम्म उत्तिर्ण भई स्थानान्तरण हुन चाहने विद्यार्थीको चारित्रिक प्रमाणपत्र वापत प्राप्त हुने रकम र कक्षा ६ देखि ११ सम्म भर्ना हुन आउने विद्यार्थीबाट एक÷एक सय रुपैयाँ, विद्यालयमा सरुवा भई वा नयाँ नियुक्तीका लागि आउने शिक्षक, कर्मचारीलाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ कोषमा योगदान गर्न लगाउने निर्देशिकामा उल्लेख गरिएको छ ।
यसरी कोषमा जम्मा भएको रकमलाई विरामीको प्रकृति र उपचारको अवधि र खर्चको भार अनुसार विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्ने, विद्यालय परिसर भित्र दुर्घटनामा परि उपचारका लागि पालिका भन्दा बाहिर लैजानु पर्ने, एसइइ र कक्षा १२ को परीक्षामा उकृष्ट अंक ल्याउने र एसइइ तयारी कक्षाका उत्कृष्ट ५ जना विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्ने निर्देशिकामा उल्लेख गरिएको प्रधानाध्यापक शर्माले जानकारी दिए ।
यहि असोज १४ गते कोष शुभारम्भसहित प्रशासनिक भवन उद्घाटनका लागि कार्यक्रमको आयोजना गरिएको छ । सोही अवसरमा विद्यार्थीलाई पुरस्कार वितरण र विविध सांस्कृतिक प्रस्तुतिको तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रसाद बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष विना राई लगायतको आतिथ्यतामा कार्यक्रमको तयारी गरिएको छ ।