२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

हिमाल चढ्ने कलाकारको सूचीमा सज्जा थपिइन्, यसअघि को–को चढेँ ?


१४ कार्तिक २०८०, मंगलबार  

34
Shares

काठमाडौँ । हिमाल होचो होस् या अग्लो । हिमाल चढ्ने काम चानचुने विषय होइन । धेरैलाई आँट आउदैन् । आँट गर्नेहरू सबै सफल हुन्छन् भन्ने पनि हैन । आज हामीले हिमाल चढ्ने नेपाली कलाकारको चर्चा गर्दैछौ । हिमाल चढेर आफ्नो साहसिकता प्रदर्शन गर्ने कलाकार धेरै छैनन् । थोरै छन् । जुन औँला भाँचेरै नाम लिन सकिन्छ ।

नायिका निशा अधिकारीले  २०७० जेठ ७ गते बिहान सगरमाथाको सफल आरोहण गरेकी थिइन् । उनको टोलीमा १२ जना थिए । त्यस बेला निशाको निकै चर्चा चुलिएको थियो । नेपाली फिल्मी जगतमा मध्यम सफलता पाएकी उनले सगरमाथा आरोहणमा भने चुलिँदो सफलता पाएकी हुन् ।

सगरमाथा नै चढ्ने अर्का नेपाली कलाकार हुन्, राजु लामा । लामा गायनका लोकप्रिय नाम हो । उनले २०७९ जेठ २ गते सगरमाथा चढेका थिए । उनको टोलीमा २७ जना थियो ।

नर्स समेत हकी नायिका दिा पुनले २०७९ जेठ १३ गते सगरमाथाको चुचुरोमा पाइला टेकिन् । उनको टिममा निर्मल पुर्जासँगै २० जना सदस्य थिए ।

हिमाल चढ्ने कलाकारको सूचीमा गायिका सज्जा चौलागाईंको नाम पनि थपिएको छ । गायन रियालिटी सो नेपाल आइडल सिजन ३ की विजेता समेत सज्जा पछिल्लो समयकी व्यस्त गायिका हुन् । ‘कलामा महिला’ नारासहित गायिका सज्जा चौलागाईंले जुगल हिमाल चढेकी छिन् । चौलागाईंसहितको टिमले गत मङ्गलवार विजयादशमीकै दिनमा ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमालको चुचुरोमा पुगेकी हुन् ।

चुचुरोमा उनले राष्ट्रिय झन्डा फरफराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् । ‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु,’ उनले लेखेकी छन् ।

महिलालाई प्रोत्साहन गर्ने आफ्नो सपना देखेको चर्चा गर्दै उनी लेख्छिन्, ‘महिला भएको नाताले मैले सधैँ अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरेँ । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’ सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  २ : २१ बजे