काठमाडौं । गीतकार मंगल राईले पूर्वेली लोक गीत ‘घाम छाँया–यो दुई दिने चोला’सार्वजनिक गरेका छन् । मंगल राईको शब्द र प्रियजन राईको संगीत सृजनामा तयार भएको गीतमा राजेश पायल राई र मन्मा बिराईको स्वर सुन्न पाइन्छ ।
सुम्निमा पारुहाङ म्यूजिक यूट्युव च्यानलमा अपलोड गरिएको गीतमा मनोज साङसन राईको एरेन्ज रहेको छ । प्रियजन राईको निर्देशन र आशिष राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा’, सीता राई, अनुप राउत, शिसम राई लगायतको अभिनय रहेको छ ।
भिडियोमा ड्रोन सट भिम बहादुर तामाङले लिएका हुन् भने छायांकन, सम्पादन र कलरको काम गंगाराम राईले गरेका छन् । तेह्रथुम, इटहरी, धनकुटा, धरान लगायतका पूर्वी भेगमा छायांकन गरिएको गीतको भिडियो विहीबार ललितपूरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार एवम् संस्कृतिविद् जितेन राईले भिडियो सार्वजनिक गरेका थिए ।
भिडियो हेरेपछि संस्कृतिविद् राईले गीत अनुसारको उत्कृष्ट भिडियो बनेको टिप्पणी गरे । गीतमा आबद्ध कलाकर्मीको प्रशंसा गर्दै उनले गीत संगीतले समाज बोल्न सक्नुपर्नेमा जोड दिए ।
भिडियो सार्वजनिक कार्यक्रममा गीत र भिडियोमा आबद्ध कलाकार र विभिन्न संघसंस्थाहरुका प्रमुखहरुको उपस्थिति रहेको थियो । गीतकार तथा सुम्निमा पारुहाङ म्यूजिक प्रा.लि.का अध्यक्ष मंगल राईले गीत संगीतको श्रीबृद्धिको निरन्तरताका रुपमा ‘घाम छाँया–यो दुई दिने चोला’सार्वजनिक गरिएको बताए ।
राईका यसअघि ‘गाईघाट बजार’, ‘मायाको ओखती’लगायतका चर्चित गीतहरु बजारमा छन् ।