२७ आश्विन २०८१, आइतबार | Sun Oct 13 2024

रैथाने बाली जर्गेनामा पूर्व राष्ट्रपति भण्डारीको जोड


२५ कार्तिक २०८०, शनिबार  

64
Shares

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले रैथाने बाली जर्गेनामा जोड दिएकी छिन् ।

रैथाने एग्री प्रोडक्टस् प्रा.लि.को सहकार्यमा बुढानिलकण्ठ नगरपालिकाको कार्यालय परिसरमा सुरुवात ‘रैथाने/स्थानीय कृषि बजार मेला’को अवलोकन गर्दै पूर्व राष्ट्रपति भण्डारीले रैथाने बाली संकटमा रहेकोमा चिन्ता व्यक्त गर्दै जर्गेनाका लागि अहोरात्र खट्ने अभियान्तालाई धन्यवाद दिए ।

उनले नेपालमा निर्यात गर्न सक्ने रैथाने विउबाली, जनशक्ति र जमिन भएपनि आत्मनिर्भर हुन नसक्नु दुखद भएको बताइन् । उनले भनिन्, ‘हामीसँग रैथाने ज्ञानसीप हुँदाहुँदै पनि हरेक खाद्य सामग्री आयात गर्नुपर्ने परिस्थिति छ । जसलाई चिर्न पनि रैथाने बालीको जर्गेना र खेतिमा बढवा दिन आवश्यक छ ।’

रैथाने कृषि उपजसहित हाटमा उपस्थित हरेक कृषकहरुका स्टलमा भण्डारी पुगेर अवलोकन गरेकी थिइन् । रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तिलक ढकाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले स्टल र कृषकको उत्पादनबारे ब्रिफिङ सहजीकरण गरेका थिए ।

काठमाडौको दरबारमार्गमा ‘रैथाने कृषि हाट बजार’सञ्चालन गर्दै आएको रैथाने एग्री प्रोडक्टस्को सहकार्यमा हाटबजार सञ्चालनमा बुढानिलकण्ठ नगरपालिकाले अग्रसरता देखाएको हो ।

रैथाने उत्पादन र बजारीकरणमा लागि परेको रैथाने एग्री प्रोडक्टस्ले दरबारमार्ग स्थित ओरियन्ट क्याफेमा हरेक शनिबार विहान ६ देखि मध्यान्न १२ बजेसम्म ‘रैथाने कृषि हाट’सञ्चालन गर्दै आएको छ भने बुढानिलकण्ठमा विहान ७ देखि ११ बजेसम्म मेला भर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : २५ बजे