सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी ३ दिने पुनर्ताजगी शिक्षक तालिम आज सकिएको छ । रीड नेपालको आयोजना, अष्ट्रेलियन एड र हिमालयन फाउण्डेशनको आर्थिक सहयोग तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वयमा संचालित तालिममा नगरपालिका भित्रका ५० जना शिक्षकहरुको उपस्थिति रहेको रीड नेपालले जनाएको छ ।
रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षता तथा नगरपालिका प्रमुख नाम्गेलजाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्यप्रसाद डंगोल, नगर शिक्षा शाखा प्रमुख सन्तोष राउतको समेत उपस्थिति रहेको थियो ।
नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । शेर्पाले शिक्षक मर्यादित पेशा भएको बताउदै आफ्नो पेशाको गरिमा आफल ोगाउनु पर्ने बताए । नगरले राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने समेत उनले बताए । शेर्पाले सहयोगी सस्था अष्ट्रेलियन एड र हिमालयन फाउण्डेशनलाई समेत धन्यवाद दिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख पुण्य प्रसाद डंगोलले शिक्षकलाई निरन्तर तालिम आवश्यक हुने बताउदै तालिमको आयोजना गरेकोमा रीड नेपाललाई धन्यवाद दिदै तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा समापनमा सहभागी शिक्षकहरुको तर्फबाट बोल्दै सेकार सिङ आविका शिक्षक अशोक कट्टेलले तालिम प्रभावकारी रहेको बताउदै तालिमबाट सिकेको सिप विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै दुधकुण्ड हिमालय आविका शिक्षक योसदा बास्तोलाले तालिममा एकीकृत पाठ्यक्रम अनुसार योजना निर्माण र मूल्यांकन गर्ने तरिका प्रस्ट भएको र तुरुन्तै व्यवहारमा लागु गर्ने भन्दै सम्पूर्ण शिक्षकको तर्फबाट नगरपालिका र रीड नेपाललाई धन्यवाद दिइन् ।
कार्यक्रममा रीड नेपालका संयोजक केशवदेव गिरीले तालिममा एकीकृत पाठ्यक्रमअनुसार योजना निर्माण, नमुना अभ्यास, शिक्षण व्यवहार, कुशल सीप र विद्यार्थी सिकाइ मूल्यांकन पद्दतिबारे सहजीकरण गरिएको बताए । तालिमको सहजीकरण सुजाता राई, सरद गौतम, अभिषेक शाह, विष्णु उपाध्यायले गरेका थिए ।