१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

मणिराज बस्नेतले ल्याए ‘पहिलो भेट’ (भिडियो)



काठमाडौ । जस्तो नशा, जाँड रक्सी, जुवातास, लागु औषधको हुन्छ त्यस्तै नशा सङ्गीतको पनि हुन्छ । नाफा त कुरै छाडौँ, लगानी पनि फिर्ता हुन्न भन्ने थाहा पाउँदा पाउँदा पनि गीतसङ्गीतको नाममा लगानी रोकिएको छैन् । जो सङ्गीतको नशामा फसेको छ, ती व्यक्तिले दैनिक खर्च कटाएर भए पनि गीत रेकर्ड गराएकै हुन्छन् । त्यसमध्येका एक हुन्, मणिराज बस्नेत ।

राम्रो गीतकारको परिचय बटुलेका बस्नेत दुई दशकदेखि अमेरिकामै बस्छन् । परदेशमा बसेर नेपाली सङ्गीतमा लगानी गर्छन् । लेखन र निर्माणसँगै उनी अहिले गायक समेत बनेका छन् । न उनलाई सङ्गीतको लगानीले अझ सम्पन्न बनाउँछ भन्ने लागेको छ, न कल्पना नगरेकै सफलता । मात्र उनी आत्म सन्तुष्टिका लागि गीत रेकर्डमा खर्चिरहेका छन् ।

केही समय अघि नेपाल आएर फर्किएका बस्नेतले त्यस बखत नै अमेरिका रहँदा लेखेका गीतलाई आफ्नै स्वरमा रेकर्ड गराए । त्यति मात्र हैन, भिडियोमा अभिनय समेत आफैँले गरेका छन् । दर्जनौँ गीतमा चलेका गायक गायिकाको स्वर रेकर्ड गराए पनि पछिल्लो समय महँगो पारिश्रमिकले गर्दा आफैँ गायक बन्नुपर्ने अवस्था आएको गीतकार बस्नेतले पत्रकार गौतम सागर राईको पोडकाष्टमा बताएका थिए ।

बस्नेतले आफूले गाएको पछिल्लो गीत ‘पहिलो भेट’सार्वजनिक गरेका छन् । आफ्नै गीत, सङ्गीत र स्वरमा तयार भएको गीतको भिडियोमा बस्नेतलाई मञ्जु श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् । विजय जिरेलले निर्देशन गरेको भिडियोलाई मणि इन्टरटेनमेन्टमा पुगेर हेर्न सकिन्छ ।

बस्नेतले यसअघि ‘नौलो परदेशी’, ‘मायाले सतायो’, ‘गुलेली मट्याङ्ग्रा’, ‘मायाले बोलाको’, ‘पोल्छ मुटु’, शंकैशंकाले’, ‘परदेशी जीवन’, ‘फर्क हे फर्क परदेशी’, ‘प्रवासी मन’लगायतका गीत सङ्गीत बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ११ : ४६ बजे