१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘सगरमाथाको शेर्पा म’ भित्र पसेर नियाल्दा



‘सगरमाथाको शेर्पा म’ पुस्तक मिङ्मा दोर्जी शेर्पाद्वारा लेखिएको उनकै संस्मरण हो । छाँया लेखकका रूपमा सिर्जना शर्मा रहेकी उक्त पुस्तक भित्र ५८ शीर्षक, तस्बिर सहित जम्मा २९६ पृष्ठमा तयार भएको छ । जरा फाउन्डेसनले प्रकाशन गरेको ‘सगरमाथाको शेर्पा म’ पुस्तकभित्र शेर्पा समुदायको इतिहास, योगदान, रहनसहन, धर्म,संस्कार, रीतिरिवाज, पर्यटन व्यवसाय, सुन्दर प्रकृति, व्यापार व्यवसाय, भ्रमण, पर्वतारोहणदेखि मिङमाको जीवनसँग सरोकार राख्ने धेरै पक्ष समेटिएको पाइन्छ । मिङ्माका अनुसार आफूले कमाएको कुरा लिपिबद्ध गरेर सन्तानलाई हस्तान्तरण गर्ने उद्देश्यले तयार पारिएको भएता पनि यो पुस्तकले आम मान्छेलाई गरिखान प्रेरित गर्छ । जीवन  जिउने कला सिकाउँछ ।

सगरमाथाको मुख्य केन्द्र, मनोरम हिमशृङ्खला, उच्च पर्वतीय क्षेत्र, अनुपमा जैविक विविधता, अनेक जातजाति, भेषभुषा, धर्म संस्कार, रहनसहन आदिले भरपुर रहेको नाम्चे बजारमा जन्मिएका मिङ्मा विगत लामो समयदेखि पर्यटन व्यवसाय र कफी खेतीमा सक्रिय छन् । हाल आएर छहारी रेटित, लास्ट फोन्टियर   ट्रेकिङ, लेकाली कफी उद्योग जस्ता व्यवसाय सञ्चालन गरिरहेका छन् । दुःखमा नआत्तिने अनि सुखमा नमातिने । मिङमाको स्वभाव अत्यन्तै सरल, मिजासिलो, सहयोगी, सहृदयी खालको छ । ‘सगरमाथाको शेर्पा म’ पुस्तकभित्र अध्ययन गर्दा  पूर्वी तिब्बतबाट करिब १८ देखि १९ शताब्दीको बिचमा आफ्नो ठाउँ छोडी नेपालको पूर्वी क्षेत्र सोलुखुम्बुको उत्तरी इलाकामा बसाई सरेर शेर्पाहरू आएका छन् भन्ने जानकारी हुन्छ। स्यार्वा अपभ्रंश हुँदा शेर्पा भनिन थालिएको अथवा भाषा र व्याकरणको आधारमा भन्दा ‘स्यार’ भनेको पूर्व र ‘वा’ भनेको स्वामीत्वबोध शब्द बासिन्दा भन्ने हुन्छ ।  स्यार्वा भनेको पूर्वी दिशामा बस्ने पूर्वेली भन्ने हुन्छ । सम्भोट लिपिमा स्यार्वा  भनिएको पाइन्छ । त्यही स्यार्वा शब्द नेपाली देवनागरी लिपिमा आइपुग्दा शेर्पा हुन गएको भन्ने जस्ता प्रसङ्ग पनि यो कृति अध्ययन पश्चात् थाहा हुन्छ ।

सोलुखुम्बुबाट बिस्तारै शेर्पाहरू बसाई सर्दै दार्जिलिङ, कालिम्पोङ, सिक्किम, भुटान लगायत विश्वभर पुगिसकेको जानकारी पनि कृतिमा उल्लेख गरिएको छ । शेर्पा समुदायमा बिहे गर्दा केटी मागेर घरमा ल्याउने अनि एउटा बच्चा भएपछि मात्रै विवाह गर्ने चलन बारे पनि यहाँ उल्लेख गरिएको छ ।

मिङ्माका बुवा अत्यन्तै परिश्रमी रहेका र पसिनाको कमाइमा बाँच्ने रमाउने मान्छे । सन् १९५३ मे १९ मा नेपालको तेन्जिङ नोर्ग शेर्पा र न्युजिल्यान्डका  सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गर्दा स्वास्थ्यको खराबीका कारण मिङ्माका बुवा आधा बाटोसम्म पुगेर फर्किनुपरेको कुरा, वस्तु विनियमको युग भएको हुनाले यताको सामान तिब्बत लगेर उताको सामान साटेर घर चलाएको प्रसङ्ग , सिजनका बेला दार्जिलिङमा गएर काम गर्ने अनि पैसा कमाएर ल्याएर परिवारको छाक टार्ने प्रसङ्ग, दार्जिलिङमा तेन्जिङ नोर्गे शेर्पासँग मित लगाएको र त्यति बेला मितको महत्त्व रहेको प्रसङ्ग, नपढे पनि बुवासँग प्राविधिक ज्ञान भएको प्रसङ्ग जस्ता थुप्रै प्रसङ्गले मिङमाका बुवा नमनयोग्य परिश्रमी थिए भन्ने  प्रस्ट हुन्छ । एडमण्ड हिलारी सगरमाथा आरोहण गर्दा शेर्पाहरूले सहयोग पुर्‍याएको गुण तिर्न के चाहिन्छ भनेर सोध्दा “स्कुल, अस्पताल, एयरपोर्ट जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य र यातायातको माग गरेको प्रसङ्गले त्यति बेला पनि शेर्पाहरूमा चेतनाको दियो बलिरहेको भान हुन्छ । त्यसैको परिणाम स्वरूप एडमण्ड हिलारीले खुम्जुङ स्कुल, अस्पताल, लुक्ला एयरपोर्ट बनाइदिएको कुरा पनि यही पुस्तक भित्र उल्लेख गरिएको छ। व्यक्तिगत स्वार्थका कुरा भन्दा माथि उठेर सिङ्गो समाजलाई हित हुने माग राख्ने ती महान् चेतनालाई नमन गर्न मन लाग्छ ।स्कुल नै नभएको ठाउँका शेर्पाहरू खुम्जुङ स्कुल स्थापना भएपछि त्यहाँ पढेर कोही डाक्टर, इन्जिनियर, नाशामा वैज्ञानिक, डाक्टर समेत रहेको सुन्दा गर्वले छाती फुल्छ ।

मिङ्माको बुवा यति खोज्न हिमालतिर जाँदा च्यातिएका नाइलनका पाल टिपेर ल्याएर आमालाई चोलो सिलाएर लगाउन दिने, जमिनमाथि स्याउला, त्यसमाथि म्याट ओछ्याएर सुत्ने, जङ्गलमा घाँस दाउरा खोज्न जाँदा भिरबाट साथी लडेर मरेको दृश्य टुलुटुलु हेर्नुपर्ने बाध्यता, छ घण्टा हिँडेर स्कुल जाने आउने कुरा, यी प्रसङ्गहरू पढ्दै जाँदा शरीरभरि काँडा पलाउँछ। बुबाले सापटी पैसा दिँदा सट्टामा ठमेलको जग्गा छोडेर फिलिप्स रेडियो बोकेर गाउँ गएको अनि रेडियो हेर्न गाउँले सबै मेला लागेको, रेडियोभित्र बोल्ने मान्छे खोज्न सबै फुकालेको तर जोड्न नजानेको, मिङ्माका दाइले  पनि सापट दिएको पैसाको सट्टा महाराजगन्जको जग्गा नलिएर भैँसी लिएको जस्ता प्रसङ्गले सोझोपनको पहाड उभिन्छ ।

यति खोज्ने क्रममा जापानीजहरूसँग हिमालतिर जाँदा कुराकानी हुने क्रममा नै इन्जिनियर पढ्ने रहर व्यक्त गरेपछि मिङ्मा जापान पुगेका अनि टोकियो पुग्दा भिजा हेर्ने मान्छेले गरेको सम्मान देख्दा गर्व लाग्छ । नेपालीलाई सगरमाथाको देशबाट, बुद्धको देशबाट आएको भनेर इज्जत गरेको कुरा पढ्दै जाँदा खुसीले आँखा रसाउँछ,तर आजभोलि नेपालीलाई नै शङ्काले हेर्ने थालेको प्रसङ्ग पढ्दा पीडाले आँखा रसाउँछ। दुःख के हो भन्ने कुरा जापानले सिकायो, त्यसै गरी कामदार, कर्मचारी या जो कसैलाई पनि हेप्नु हुँदैन, सम्मान गर्नुपर्छ भन्ने कुरा पनि जापानले सिकाएको प्रसङ्ग मिङ्माले लेखेका छन्। दुःख के हो भन्ने कुरा जापान गएर बुझे भन्दै मिङमा लेख्छन् “जापानमा सिकेका सबै कुरा आफ्नो देशमा प्रयोगमा ल्याएँ ।”

जापानबाट क्यानडा जाने अवसर पाउँदा पनि बुबाले आफ्नै देश फर्काएको त्यसै गरी आफूले पनि छोराहरुलाई आफ्नै देशमा फर्काएको प्रसङ्गले देश प्रेमीको भाव व्यक्त गर्दछ । मिङ्माकी श्रीमती पेम्बा याङ्जी शेर्पा अत्यन्तै सहयोगी, कर्मशील, मितव्ययी स्वभावकी हुनाले घर व्यवहार अनि सासुससुराको रेखदेख उनले गरेका भन्दै लेखकले यहाँ महिलाको कार्यवोझको मर्मवोध गरेका छन्। मिङमा आफू जति पनि सफल भए ती सबै श्रीमतीकै प्रेरणा, सल्लाह, सुझावले हो भनेर गर्व गर्दछन्। उनी अंशबन्डा गरेर धुम्बाराहीमा जग्गा किनेर घर बनाउँदाको प्रसङ्ग उप्काएर पाठकलाई  हिक्क हिक्क पार्छन्। घर बनाउँदा पैसा नभएर माइतीले दिएको कानका सुन समेत बेचेर काम टार्ने श्रीमतीले आग्रह गरेको कुराले मानवताको सगरमाथा उभिएको आभाष हुन्छ । मिङ्माकी आमाले खेपेका बुहार्तनको प्रसङ्गले तत्कालीन माहिलाहरूको जीवन भोगाइको प्रतिनिधित्व गरेको छ । 

रगतको नाता भन्दा  भावनाको नाताले आपतविपतमा सहयोग गरेका कुरा पनि यहाँ उल्लेख छ। अहिले  धेरै वटा घर भए पनि धुम्बाराहीको घर नै बढी माया लाग्ने कुरा उनी लेख्छन् । मिङ्माका अनुसार त्यो घर उनको विगतको अभिलेख बोक्ने साक्षी हो ।

मिङ्मा दोर्जी शेर्पा इन्जिनियर बनेपछि टोयोटा कम्पनीमा काम गर्दागर्दै एकाएक ट्रेकिङतिर फर्किएर काम सम्हाल्दा आफैँ मालिक, आफैँ नोकर, आफै कामदार भएर काम गर्दाको तितो अनुभव बताउँछन् । पर्यटन भित्र्याउन आफूले गरेको दुःख सम्झन्छन् । शेर्पाहरूले नै हिमाल ,खोला, नाला ,मठ,  मन्दिर सबै स्थानको फोटो, भिडियो,स्लाइड बनाएर नेपालको प्रचारप्रसार गरेको यथार्थ पनि पुस्तकमा लेखिएको छ । 

तत्कालीन सरकारी निकाय सक्रिय नभइदिँदा व्यक्ति व्यक्तिको प्रयासबाट पर्यटन प्रबद्र्धनमा योगदान गर्नुपरेको तितो सत्य ओकल्छन् उनी । विश्वका धेरै वटा देश घुम्दा त्यहाँको योजनासहित विकास भएको देख्दा अनि नेपालमा लथालिङ्ग देख्दा अत्यन्तै चिन्ता व्यक्त गर्दछन् । विदेशमा दुःख लुकाएर समुन्द्र, गाडीको छेउमा खिचेको तस्बिर जस्तो छैन वास्तविक भोगाई, मेसिन जस्तै छ । भन्ने भाव व्यक्त गरेका छन् । यो देशमा अवसर नपाएर बिदेसिने युवाको  ताँती देख्दा मिङमाको छाती भक्कानिन्छ । उनी आफू भने परिश्रम गर्दा नेपालमा नै हिरा फल्ने देख्छन् ।  उनी पानीको छाँगामा, रुखको हाँगामा,हिमालमा, हिउँमा, फुलमा, भिरमा, खोलानाला सबैतिर डलर देख्छन् । यी डलर टिप्न बुद्धि चाहिने कुरा गर्दछन् ।

सानैदेखि दुःखमा हुर्किएर होला मिङ्गमा अत्यन्तै सहयोगी भावका छन् । कसैको पनि पीडा देख्न सक्दैनन् उनी। विभिन्न ठाउँमा उनले बनाएका स्कुल, घर ,अस्पताल जस्ता सुकर्मले सुकर्मै बन्न प्रेरित गर्दछ। हाइड्रोपावर र हवाई जहाज खरिदमा गरेको अरबौँ लगानी डुबेपछि अनुभव नभएको काममा हात नहाल्नु भन्ने सन्देश प्रवाह गर्दछन् मिङमा दोर्जी शेर्पा । क्यान्सर  जस्तो डरलाग्दो रोगले जीवनसाथी खोसेपछि पीडामा परेका मिङ्गमा आँसुलाई शक्तिमा बदलेर समाजसेवामा समर्पित रहेको कुरा अभिव्यक्त गर्दछन्। वीरल्याण्ड भन्ने नयाँ देशको पर्यटन मन्त्रीका रूपमा पनि भूमिका निर्वाह गरिरहेका उनी सन्तानका नजरमा पनि समाजसेवीका रूपमा नै परिचित छन्। उनको कृति पढ्दै गर्दा मान्छेले ठुलो वस्तु प्राप्त गरेपछि साना कुरा भुल्नु हुँदैन, माटो छोड्नु हुँदैन, गुन बिर्सिनु हुँदैन भन्ने भाव पाठकीय हृदयमा सल्बलाउँछ ।

‘सगरमाथाको शेर्पा म’ कृति भित्रका पाठहरूले समग्रमा सङ्घर्ष नै जीवन हो, सङ्घर्षबाट हार्नु हुँदैन, सबैलाई सम्मान गर्नुपर्छ, समाजसेवा नै सर्वश्रेष्ठ धर्म हो,माटोमा टेकेर उभिएको वा माटो नछोडेको मान्छे लड्दैन, लडे पनि उठ्न सक्ने सामर्थ्य राख्दछ, नजानेको काममा हात नहाल्नु, आफ्नै देशमा अवसर खोजौँ, परिवारमा संस्कारको महत्त्व छ भने जस्तो थुप्रै थुप्रै सन्देश प्रवाह गर्दछन्। हरेक मानिसका लागि यो कृति प्रेरणाको स्रोत बन्नेछ। शब्द चयन ,भाषा शैली, संरचना सबै पक्ष सरल अनि मिठो तरिकाले सलल बगेको हुँदा भुईँ मान्छेदेखि विद्वान समेतलाई पढ्न सहज छ । वोधगम्य शैली छ । पढ्दै जाँदा कतै हर्षले, कतै पीडाले आँखा रसाउँछन् । कतै ऊर्जाले मन जुरुक्कै पार्छन् भने कतै प्रेम भावले हृदय ल छ्यापै भिजाउँछन् । मानवीय समवेदनाको सङ्गालो यो गहन कृति प्रकाशन गर्ने जरा फाउन्डेसन र लेखक दुवैलाई हार्दिक बधाई एवं कृति सफलताको शुभकामनाका शब्द गुच्छा समर्पण गर्दछु ।

डा. रेणुका सोलु, त्रिभुवन विश्वविद्यालय

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : १० बजे