१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

मेयर शेर्पाको सफलता, खुम्बु जोड्ने फाप्लु-रिङमु-टाक्सिन्दु सडक कालोपत्रे हुँदै



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र जोड्ने सगरमाथा पर्यटन सडक खण्डमा कालोपत्रेको काम छिट्टै थालिने भएको छ । जसका लागि एसियाली विकास बैंक एडीबीले सहयोग गर्ने भएको छ ।


ट्रयाक ओपन भएर कालोपत्रे हुन नसकेको सगरमाथा पर्यटन सडक खण्डको कालोपत्रेका लागि सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले लामो समयदेखि पहल गरेका हुन् । मेयर शेर्पाले भने, ‘खुम्बु जोड्ने सडकमा कालोपत्रेको कामले बल्ल सार्थकता पायो, अब छिट्टै ठेक्कमा जान्छ र काम सुरु हुन्छ ।’

सुरुवातमा १० किलोमिटर सडक कालोपत्रेको काम अघि बढाईने मेयर शेर्पाले जानकारी दिए । सदरमुकाम सल्लेरी–फाप्लु–रिङमु–नुनथला–टाक्सीन्दु हुँदै खुम्बु जोड्ने यो सडकखण्डको जम्मा ४३ किलोमिटरको डिपीआर तयार गरिएको थियो । जसको लागि लागत ५० करोड अनुमान गरिएको छ । एडिबीले विभिन्न चरणमा कालोपत्रेको काम गर्ने जनाएको छ । तत्काल कालोपत्रेको काम भने फाप्लुबाट सुरु गरिनेछ भने २ वर्षमा काम सक्नेगरि १० किलोमिटरको दुरीमा टाक्सीन्दुसम्मको कालोपत्रेको कामका लागि ठेक्का आह्वान गरिनेछ ।

यस्तै, नगरपालिकाले जुभिङघाटस्थित दुधकोशी नदी माथिको मोटरेबल पुलको निर्माण कार्यलाई पनि तिब्रता दिएको छ । केही महिनाभित्रै पुलको निर्माण कार्य सकिने मेयर शेर्पाले जानकारी दिए । गत असोज ३ गते संविधान दिवसको अवसर पारी मेयर शेर्पाले आफ्नो नगरपालिका क्षेत्रबाट सुरु हुने उक्त सडक कालोपत्रे योजनाको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ८ : ४० बजे