२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

महाकुलुङ गाउँपालिकाले पनि कोरियामा मौसमी कामदार पठाउने, कोरियाली कम्पनीसँग सम्झौता



सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले पनि दक्षिण कोरियामा मौसमी कामदार पठाउने भएको छ । त्यसको लागि कोरियाली कम्पनी दोङबाङ डिएस सिस्टम कम्पनी लिमिटेडका सँग सम्झौता गरेको छ ।

यसअघि सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले पनि मौसमी कामदार पठाउने गरि प्रारम्भिक सम्झौता गरिसकेको छ ।

केही दिन अघि काठमाडौँमा भएको सम्झौतामा दोङबाङ डिएस सिस्टम कम्पनी लिमिटेडका सिइओ र महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले दक्षिण कोरियामा मौसमी कामदार आदानप्रदान सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय कृषि क्षेत्रको विकास गर्न र आम्दानी वृद्धि गर्नका लागि दुवै पक्षले ५ बुँदामा सहमति जनाएका छन् ।

सम्झौता पत्रमा पालिका भित्रका इच्छुक कामदारलाई कोरियामा काम गर्ने अवसर सृजना गर्ने र महाकुलुङ गाउँपालिकाले मौसमी काम समाप्त हुँदा साथ कामदार फिर्ता हुने ग्यारेन्टी लिनुपर्ने लगायतका सर्त उल्लेख गरिएको छ । सम्झौता एक वर्षको लागि कायम रहनेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ०५ बजे