१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

महाकुलुङका आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पब्लिक शेयर निष्कासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम



सोलुखुम्बु । एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडको संयुक्त आयोजनामा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका भित्रका प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि पब्लिक शेयर निष्कासन (आइपिओ) सम्बन्धि एक दिने अभिमुखिकरण गरिएको छ ।

मध्य होँगु खोला “ए“ जलविद्युत (२२ मेगावाट)को प्रवद्र्धक संस्था एपेक्स मकालु हाइड्रोपावर लिमिटेड र मध्य होँगु खोला “बि“ जलविद्युत आयोजना (२२.९ मेगावाट)को प्रवद्र्धक संस्था गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आइतबार महाकुलुङमा आइपिओ निष्कासन सम्बन्धमा सरोकारवाला, जनप्रतिनिधि लगायतसँग छलफल गरिएको हो । सानिमा क्यापिटल लिमिटेड र नबिल इन्भेष्मन्ट बैकिङ लिमिटेडबाट शेयर बिक्रि गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अति प्रभावित क्षेत्रमा पर्ने स्थानीय वडा बासीहरुले ७० (सत्तरी प्रतिशत) र प्रभावित क्षेत्रमा पर्ने स्थानीय वडा बासीहरुले ३० प्रतिशतको दरले आइपिओ भर्न पाउने व्यवस्था मिलाइएको छ । मध्य होँगु खोला “ए“ जलविद्युत २२ मेगावाटमा महाकुलुङ गाउँपालिका सबै वडा र सोताङ गाउँपालिका ४ र ५ वडालाई ७० प्रतिशत शेयर बिक्रि गरिने छ । सोताङ गाउँपालिकाका वडा न १,२,३, थुलुङ दुधकोशी गाउँपालिकाको वडा न ८,७,१,६ र सोलु दुधकुण्ड नगरपालिका वडा नं ७, र ११ लाई ३० प्रतिशत शेयरको स्वामित्व प्रदान गरिनेछ ।

मध्य होँगु खोला “बि“ २२.९ मेगावाटबाट अति प्रभावित क्षेत्रमा पर्ने स्थानीय सरोकारवाला वडाले ७० प्रतिशत र समूह (ख) पर्न वडालाई ३० प्रतिशत शेयर बिक्री गर्ने गरि प्रवद्र्धक कम्पनी बिच दुई स्थानीय सरकारले हस्ताक्षर गरेका छन् ।

अभिमूखिकरणमा महाकुलुङ र सोताङ गाउँपालिका उपप्रमुख तथा वडाका वडाअध्यक्ष तथा गाउँसभा सदस्य एवम् कार्यपालिका सदस्य, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि स्थानीय बुद्धिजीवी, पालिकाका प्रशासन प्रमुख तथा कर्मचारी स्थानीय सरोकारवालाहरु, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको स्थानीय पत्रकार झलक राईले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ११ : २६ बजे