काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गायक तथा सङ्गीतकार राजेन्द्रकुमार कार्कीले लोक सञ्चारकर्मी शरण कुमार हुँमागाईमाथि गरेको गालीगलौज र आक्षेप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका शरणकुमार हुँमागाईले रेडियो आहा १०४.५ मेगाहर्जमा सञ्चालन गरेको कार्यक्रम ‘देउराली’को बुधवार साँझको अङ्कपछि गायक तथा सङ्गीतकार कार्कीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सञ्चारकर्मी हुँमागाईमाथि विभिन्न गालीगलौज र आक्षेप लगाउँदै स्ट्याटस लखेका थिए ।
कार्कीको सोही गालीगलौज र आक्षेपको विषयमा बिहीबार लोक सञ्चारकर्मी नेपालले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै खेदजनक र निन्दनीय भएको जनाएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घका निवर्तमान अध्यक्ष समेत रहेका कार्कीले सञ्चारकर्मी हुँमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, ‘बहिष्कार गरौँ’लगायत शब्द लेखेका ।
हाल कार्कीले फेसबुक स्ट्याटस हटाइसकेका छन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले कार्कीको उक्त प्रहार हुँमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं लोक सञ्चारकर्मीमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ ।