३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

‘कलाकार र सञ्चारकर्मीको सम्बन्ध नङ र मासुको जस्तो’



काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । 

शुक्रवार टोखास्थित प्रतिष्ठानकै भवनमा आयोजित कार्यक्रममा लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलाई दोसल्ला र बधाई प्रमाण–पत्रसहित शुभकामना व्यक्त गरिएको हो । 

कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा संरक्षक अमर विरही गुरुङले लोक गीतसङ्गीतमा देखिएको विकृति न्यूनीकरणका लागि कलाकार र लोक सञ्चारकर्मीबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा मगरले सञ्चारकर्मी र कलाकारको सोच, भावना र उद्देश्य लोक गीत सङ्गीत र संस्कृतिको जर्गेना भएकाले सहकार्यको भावनासहित अघि आग्रह गरे । उनले भनिन्, ‘बोल्नेले गर्दैन, गर्नेले बोल्दैन । यो सत्य हो । अघिल्ला कार्यसमितिले भन्दा अझ राम्रो काम गर्न सक्नुहोस्, हाम्रो शुभकामना छ ।’

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले कलाकार र सञ्चारकर्मीबिच एक अर्कामा सहयोगी भावना रहे मात्रै दीर्घकालीन सहकार्य टिक्न सक्नेमा जोड दिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले लोक सृजनाको गुण र दोषको आधारमा प्रोत्साहित गर्ने की निरुत्साहित गर्ने जिम्मा सञ्चारकर्मीको रहने बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप–महासचिव शिरीष देवकोटाले लोक सञ्चारकर्मीले फिल्टरको काम गर्नुपर्ने बताए ।

नवनिर्वाचित लोक सञ्चारकर्मी नेपालका पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकाली लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ८ : ४३ बजे