काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल)ले मानव बेचबिखन र वैदेशिक ठगीको विरुद्धमा नागरिक चेतनामूलक बृहत् मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
आइतबार बालाजुबाट सुरु भएको मोटरसाइकल र्याली सामाखुसी–वसुन्धरा–महाराजगन्ज–सुकेधारा–चाबहिल–गौशाला हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । सो सभामा सभामुख इन्दिरा राना मगर लगायतका राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सभामुख रानाले प्रतिनिधि सभामा मानव बेचबिखन र वैदेशिक ठगीको विरुद्धमा कानुन निर्माणका लागि दबाब सृजना गर्ने बताइन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संविधान सभा सदस्य अञ्जना विसंखेले आफ्नो पार्टीले सरकारको नेतृत्व गरेकाले गृहमन्त्री र श्रम मन्त्रीको विशेष ध्यानाकर्षणमा भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य श्याम कुमारी श्रेष्ठको समेत उपस्थिति रहेको थियो । उनले आफ्नो पार्टी प्रतिपक्षमा रहे पनि मानव बेचबिखन र वैदेशिक ठगीको विरुद्धमा खरो रूपमा उत्रने बताइन् । महिला उद्यमी महासङ्घकी सभापति शोभा ज्ञवालीले महिला स्वदेशमै रहनुपर्छ भन्ने मान्यतासहित महासङ्घले देशव्यापी स्वरोजगारको अभियान सुरु गरेको बताइन् ।
सभामा बोल्दै जसपा केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य कमला विश्वकर्माले मानव बेचबिखन र वैदेशिक ठगीको विरुद्धमा पार्टी एक ढिक्का भएर लाग्ने प्रतिबद्धता जनाइन् । रेस्क्यू नेपालका अध्यक्ष इन्द्रलाल गोलेले राजनीतिक नेतृत्वले रोजगारी सृजनामा ध्यान नदिँदा बेरोजगारीको सङ्ख्या बढेको र त्यसको उपजको रूपमा वैदेशिक रोजगारी र ठगीको घटनामा वृद्धि भएको बताए ।
कार्यक्रममा श्रमिक रक्षा सङ्घका अध्यक्ष सविना लिम्बु लगायतको उपस्थिति रहेको रेस्क्यू नेपालका प्रवक्ता दीपक बिसीले जानकारी दिए ।