२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन सुरु



सोलुखुम्बु  । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका मुक्लीमा स्थित ऐतिहासिक ओगानेम (दरबार) क्षेत्रको अध्ययन अनुसन्धान सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मुक्लीमा रहेको उक्त ऐतिहासिक ओगानेम दरबार क्षेत्रको आधिकारिक रूपमा अध्ययन सुरु भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

गाउँपालिकाको सभा हलमा सोमबार एक कार्यक्रमका बिच उक्त दरबार क्षेत्रको अध्ययन अनुसन्धान तथा पर्यटन विकास विषयक अन्तरक्रिया समेत सम्पन्न भएको छ । पालिका अध्यक्ष असीम राईको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृत विद् तथा राष्ट्रिय नाच घरका अध्यक्ष डा. चन्द्र हतुवाली र पर्यटनविद् तथा लुम्बिनी विकास समितिका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले सहजिकरण गरेका थिए ।

थुलुङहरुको उद्गम थलोको रूपमा लिइने मुक्लीमा ऐतिहासिक ओगानेम दरबारको भग्नावशेष रहे पनि यसको विस्तृत अध्ययन नहुँदा ओझेलमा परेको स्थानीय अगुवा जगत बहादुर राईले बताए ।

खनजोत गर्ने क्रममा दरबार निर्माणमा प्रयोग भएका ढुङ्गा तथा केही महत्त्वपूर्ण भग्नावशेष फेला परे पनि यसबारे अध्ययन नभएको अर्का स्थानीयवासी अगुवा तथा पूर्व शिक्षक धनकुमार राईले बताए । “हामीले नै दरबारको गाह्रो देखेका हौँ, खनजोत गर्दा कुदिएका ठुला ठुला ढुङ्गाहरू भेटियो, अन्य सामाग्री समेत पाइन्थ्यो ।” अगुवा तथा पूर्व शिक्षक धनकुमार राईले भने, “रामलीहाङ राजा र ओगानेम दरबारको बारेमा धेरै सुनेको भए पनि आधिकारिक अध्ययन थिएन अब सुरु भयो हामी सबै एक भएर लागौँ ।”

समाज सेवी, पूर्व शिक्षक तथा थुलुङ अगुवा धन्दीराम राईले दरबार क्षेत्र र त्यस आसपासको जग्गाको अवस्था हेर्दा र पुर्खाको कुराहरू सुन्दा मिल्दोजुल्दो पाइएको बताए । उनले भने, “त्यो बेलाका सेनाहरूले परेट खेल्ने लगायतको ठाउँहरू देखिएको भए पनि पछिल्लो समय यसको संरक्षण अभावमा नष्ट हुँदै गयो ।”

थुलुङ राई संस्कृति प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले विभिन्न शब्दावली देखि अय ेरै क्षेत्रहरूमा अपभ्रंश हुँदै गएकाले अध्ययनको पाटोलाई फराकिलो बनाउनुपर्ने सुझाव दिए । ¥योम्ली हब नाम रहनुपर्ने भए पनि अपभ्रंश भएर रामलिहाङ भन्ने गरिएको उनको दाबी छ ।

पाँचौँ शताब्दी सम्म रामलिहाङ राजाले सत्ता सञ्चालन गरेको भन्ने सुनेको थुलुङ अगुवा अचम्म सिंह राईले बताए । यस्तै थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असीम राईले लुम्बिनीमा बुद्धिस्टहरू, पशुपति क्षेत्रमा हिन्दुहरूको केन्द्र भएजस्तै थुलुङराईहरुको केन्द्र थुलुङ दुधकोशीको मुक्ली हुने विश्वास व्यक्त गरे । ऐतिहासिक ओगानेम दरबार क्षेत्रको अध्ययनले इतिहासको दस्ताबेजीकरण सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत गर्ने  भन्दै अध्यक्ष राईले यसको विकासमा सबैको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिए ।

स्थानीय सरकारको अनुरोधमा पर्यटन मन्त्रालयको पहिलो नजर

यस अघि पनि ओगानेम दरबार सम्बन्धी केही अध्ययनहरू सार्वजनिक भए पनि सरकारी तवरबाट अध्ययन सुरु गरिएको यो पहिलो हो । थुलुङ दुधकोशी गाउँपालिकाले चालु आर्थिक वर्षमा रु.२० लाख बजेट नै व्यवस्था गरी यसको खोज तथा अनुसन्धान गर्ने कार्यक्रम निर्माण गरेको थियो । 

यस्तै गाउँपालिका अध्यक्ष असीम राईले स्थानीय सरकार सङ्गै सङ्घीय सरकारको समेत ध्यान दृष्टि पुग्नुपर्ने भन्दै मन्त्रालयको ढोका ढकढक्याएको बताए । जसको फलस्वरुप यस वर्ष पर्यटन मन्त्रालयले रु. १० लाख बजेट व्यवस्था गरेर अध्ययन सुरु गरेको छ ।

पुरातत्त्व विभाग सँगको सहकार्यमा मन्त्रालयले समेत काम सुरु गरिसकेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए । एक टोलीले केही दिन अघि मात्रै स्थलगत अध्ययन गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ४४ बजे