काठमाडौं । तारकेश्वर नगरपालिका १ मा निर्माण गरिने खालिङ समुदायको ‘चुल्हो घरको शिलान्यास गरिएको छ । बिहीबार साङलामा आयोजित कार्यक्रममा खालिङ पुर्खा पूर्ण बहादुर खालिङ ‘जिरिसे’, शंखर खालिङ, एकप्रसाद खालिङ ‘राम्रीसे’ र पूर्ण बहादुर खालिङ ‘मजम्बर’ले ‘चुल्हो घर’को शिलान्यास (अलखुङ)गरिएको हो ।
सोही अवसरमा आयोजित कार्यक्रममा तारकेश्वर १ का वडाध्यक्ष विदुर सापकोटाले एकीकृत बस्तीका लागि खालिङ समुदायले तारकेश्वर छनौट गरेकोमा खुसी व्यक्त गरे । उनले ‘चुल्हो घर’ र ‘संग्राहलय’ले जातीय मात्र नभई सामाजिक पहिचान समेत थप गर्ने बताए । जिमी राई उत्थान समाज, सोलुखुम्बुका अध्यक्ष यस बहादुर राईले शिलान्यास गरिएको ‘चुल्हो घर’निर्माणका लागि ५० हजार सहयोग हस्तान्तरण गर्दै निर्माण सफलताको शुभकामना दिए ।
कार्यक्रममा निर्माण समितिका सह–संयोजक मानवीर खालिङले खालिङ दतबेजका लागि ‘चुल्हो घर’ र ‘संग्राहलय’को अवधारणा अघि बढाइएको बताए । किराँत खालिङ राई उत्थान सङ्घ अमेरिका शाखाका अध्यक्ष मकर बहादुर राईले ‘चुल्हो घर’ निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै अमेरिकामा सङ्कलित सहयोग रकम ६ लाख १५ हजार नगद प्रदान गरे । उनले हालसम्म विभिन्न चरणमा २२ लाख भन्दा बढी सहयोग सङ्कलन गरिसकेका छन् ।
टोल सुधार समितिका कोषाध्यक्ष सौमान राईले हालसम्मको सङ्कलित रकम र खर्च विवरण सार्वजनिक गर्दै किराँत खालिङ राई उत्थान सङ्घका अध्यक्ष सीता कुमारी राईलाई हस्तान्तरण गरेका थिए । टोल सुधार समितिका सचिव भुवन सिं राईले ६८ जनाबाट सुरु भएको अभियानमा करिब २ सय जना विश्वका खालिङ परिवारले घडेरी लिएको र सोही अनुरुपको एकीकृत बस्ति, साझा चुल्हो घर र संग्राहलयको अवधारणाबारे प्रष्ट पारेका थिए भने जय कुमार खालिङले स्वागत मन्तव्य राखेका थिए ।
३३ आना २ पैसा जग्गामा खालिङ समुदायको जन्म देखि मरणसम्मको लागि आवश्यक पर्ने चुल्हो घरसहित संग्राहलय निर्माण गर्न लागिएको हो भने खालिङ एकीकृत वस्तिलाई दीर्घकालीन योजना रहेको छ ।