१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

‘गोविन्द शर्मा स्मृति सक्रिय पत्रकारिता पुरस्कार’बाट कृष्ण कँडेल सम्मानित



काठमाडौं । ‘गोविन्द शर्मा स्मृति सक्रिय पत्रकारिता पुरस्कार’बाट इन्द्रेणी सांस्कृतिक समाजका अध्यक्ष कृष्ण कँडेल पुरस्कृत भएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको पत्रकारिता पुरस्कारबाट अनवरत रुपमा लोक गीतको प्रवद्र्धन र संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै कँडेललाई सम्मान प्रदान गरिएको संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको संस्थापक सह–सचिव गोविन्द शर्माको सडक दुर्घटनामा परी केही वर्ष पहिले निधन भएको थियो । उनै शर्माको स्मृतिमा लोक सञ्चारकर्मी नेपालले गोविन्द शर्मा स्मृति सक्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको थियो । पुरस्कारको राशी ५ हजार ५५५ रुपैयाँ रहेको छ । स्थापना दिवसको अवसरमा शनिबार अनामनगरको एक होटलमा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले सञ्चारकर्मी कँडेललाई दोसल्ला, नगद र सम्मान–पत्रसहित पुरस्कार प्रदान गरिन् ।

पुरस्कार ग्रहणपछि सञ्चारकर्मी कँडेलले लोक गीत र सम्बन्धी कलाकारको दुखसुख र खोजीमा इन्द्रेणी समान ढंगले अघि बढेको दाबी गर्दै दिवंगत सञ्चारकर्मी गोविन्द शर्माको परिवारले चाहेमा छोरोले पत्रकारिता पढ्न इच्छा देखाएमा उच्च शिक्षासम्मको सम्पूर्ण खर्च आफूले व्यहोर्ने घोषणा समेत गरे ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औँ स्थापना दिवसको अवसरमा ‘लोक गीत, लोक संस्कृति, हिजो र आज’विषयक अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा वक्ताका रुपमा वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी, गीतकार, साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्साल, देउडा गीतका ज्ञाता नन्दकृष्ण जोशी, काठक्षेत्रका ज्ञाता कलाकार ध्रुवराज खड्का र गीतकार तथा संगीतकार एकनारायण भण्डारी थिए । उनीहरुले लोक गीत, हिजो र आजका अभ्यास, समस्या र समाधानका विषयमा आफ्ना अनुभव शेयर गरेका थिए ।

कार्यक्रममा वरिष्ठ लोक गायक बम बहादुर कार्की, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरी लगायतले शुभकामना दिएका थिए । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनोनित सदस्यलाई प्रमाणपत्र वितरण, कल्याणकारी कोषमा सहयोग गर्ने दातालाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ३७ बजे