२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

थुलुङ दुधकोशीकाे रनेममा ‘ग्रामिण स्वास्थ्य इकाई’ स्थापना गरिने



सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले वडा नं ८ रनेममा ग्रामिण स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका बैठकले रनेममा ग्रामिण स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार वडाको रनेम, दिप्ली तथा अम्रास क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि उक्त स्वास्थ्य इकाई संचालन गर्ने निर्णय गरिएको हो । तत्काललाई वडा नं ८ को बुढीडाँडा स्थित बर्थिङ सेन्टरमा कार्यरत करार सेवाका कर्मचारीलाई स्वास्थ्य इकाईमा कामकाजका लागि खटाउने निर्णय गरिएको छ।

यस्तै वडा नम्बर ६ स्थित मुक्ली स्वास्थ्य चौकीलाई थुलुङ दुधकोशी अस्पतालमा स्तरोउन्नती गरी थुलुङ दुधकोशी अस्पताल बनाउने पनि निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । त्यहाँ सन्चालित बर्थिङ सेन्टरमा कार्यरत नशक्तिलाई वडा नं ६ कै मुक्लीको थुलुङ दुधकोशी अस्पतालमा पदस्थापन गर्ने र त्यहाँ रहेका जिन्सी तथा स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । उनका अनुसार हाल संचलान रहेको मुक्ली स्वास्थ्यचौकीमा प्राथमिक उपचारका लागि स्वास्थ्य क्लिनिक कायम राख्ने निर्णय गरिएको छ । 

यस्तै गाउँपालिकामा उत्पादित तोरी तथा अन्य तेलहन वालीको उत्पादन अवस्था लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन निर्माण गर्ने समिति गठन गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष घनराज सुनुवारको संयोजकत्वमा ५ सदस्यीय अध्ययन प्रतिवेदन समिति गठन गरिएको पालिकाले जनाएको छ ।

आगामी वर्ष देखि पालिलकाले खानेतेल आयातमा पुर्णरुपमा प्रतिबन्ध गर्ने निर्णय गरेको छ । जसको लागि तोरीको बीउ उपलब्ध गराएर खेती गर्न गाउँपालिकाले उर्दी जारी गरेको थियो ।  यस्तै सोमबार सम्पन्न कार्यपालिका बैठकले गाउँ शिक्षा योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले पालिका सरकार नागरिकको स्वास्थ्य प्रति गम्भिर रहेको बताए । हरेक नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व रहेकाले आफुहरु निर्वाचित भएदेखिनै मातृमृत्युदर कम गर्न प्रोत्साहन भत्ता देखि पालिकामा अस्पताल निर्माण तथा सन्चालन लगायतको काम गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ०१ बजे