२७ भाद्र २०८१, बिहिबार | Thu Sep 12 2024

थुलुङ दुधकोशीमा लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन, ८६ जना लाभान्वित


२६ माघ २०८०, शुक्रबार  

168
Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले ८६ जनालाई एक महिने लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ । गाउँपालिकाको आयोजनामा जारी उक्त कक्षाको शुक्रबार समापन गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार कक्षामा सहभागीलाई माग अनुसार आयोग तयारीका लागि आवश्यक पुस्तक समेत वितरण गरिएको छ । दक्ष जनशक्ति निर्माण गर्ने उदेश्य सहित पालिकाले सञ्चालन गरेको तयारी कक्षा अति नै प्रभावकारी बनेको सहभागी रेनुकला राईले बताइन् । एक महिना धेरै ज्ञानका कुरा मात्र नभई पढ्ने तरिका समेत सिक्न पाएको भन्दै उनले यसलाई आधार बनाएर अध्ययन गरेको खण्डमा सफल हुने हिम्मत रहेको बताइन् ।

निजामती सेवा तथा लोक सेवा आयोगको तयारीका बारेमा वृहत् जानकारी पाएको अर्का सहभागी सविता खत्रीले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले गाउँपालिकाले भौतिक विकास सङ्गै सामाजिक विकासलाइ सङ्गसङ्गै अघि बढाएको बताइन् । युवाहरूलाई लगनशील भएर अध्ययन गरि निजामती र स्थायी शिक्षक बन्न शुभकामना दिदै उपाध्यक्ष राईले मेहनतले मानिसलाई सफल बनाउने बताइन् ।

समापन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले एक महिने तालिममा सिकेको कुरालाइ व्यवहारमा प्रयोग गर्दै मेहनत गरि सफल हुने शुभकामना दिएका थिए ।

विहान र बेलुका गरि दुई चरणमा सञ्चालन गरिएको कक्षाको सहजीकरण पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खरिधन कुलुङ सहितले गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ५७ बजे