२२ कार्तिक २०८१, बिहिबार | Thu Nov 7 2024

खालिङ आदिम पुर्खा ‘निन्वाम रिदम र ख्वाम्दा’को छायाँचित्र सार्वजनिक 


१३ फाल्गुन २०८०, आइतबार  

178
Shares

काठमाडौं । किरात खालिङहरुको आदिम पुर्खा निन्वाम रिदम र ख्वाम्दाको छायाँचित्र सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक विशेष समारोहबिच उक्त छायाँचित्रको लोकार्पण गरिएको हो ।

छायाँचित्र किरात खालिङ राई उत्थान सङ्घ केन्द्रीय कार्यसमितिसँगको सहकार्यमा अमेरिका र युके शाखाको संयुक्त परिकल्पना तथा आर्थिक सहयोगमा निर्मित उक्त छायाँचित्रको लोकार्पण सङ्घीय सांसद मानवीर राईले गरेका हुन् ।

खालिङहरुको पुर्खा (बाजे) माप्य र दिक्प्यको छायाँचित्र पनि यसअघि लोकार्पण गरिएको थियो । निन्वाम रिदम र ख्वाम्दाको छायाँचित्र चित्रकार राजकुमार खालिङ र कन्चन तामाङ खालिङले उतारेका हुन। 

सङ्घीय सांसद राईले भाषा, भेषभूषा र संस्कृति संरक्षणमा विभिन्न तवरबाट भइरहेका पहल प्रयासहरू अझै जारी रहने विश्वास व्यक्त गरे ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले समायला जागरूक बनाउँदै आफ्नो अस्तित्व र पहिचान स्थापित गर्नका लागि यस खालको प्रयास कोशेढुंगा साबित हुने विश्वास राखे ।

किरात खालिङ राई उत्थान सङ्घ अमेरिका शाखाका अध्यक्ष मकर खालिङले समुदायको अस्तित्व र पहिचान उजागर गर्दै सबैलाई एकताको सूत्रमा बाँध्नका लागि लागि यो परिकल्पना गरिएको उल्लेख गरे ।

लोकार्पण कार्यक्रममा किरात खालिङ राई उत्थान सङ्घका पूर्व अध्यक्षहरू विसन राई, रामरतन राई, किरात राई यायोक्खाका कोषाध्यक्ष पर्शुराम राईलगायत संस्थाका संरक्षक, सल्लाहकार, पुर्खाहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुहरुको उपस्थिति रहेको थियो ।

को हुन् निन्वाम रिदम र ख्वाम्दा ?

खालिङहरुले आदिम पुर्खाको रूपमा मान्ने निन्वाम रिदम र ख्वाम्दाको बारेमा लामो कथा छ । त्यो कथा यहाँ उल्लेख गर्दा धेरै लामो हुने र अधिकांश शब्दहरू खालिङ मुन्धुमी (पुर्खा) भाषामा हुने भएकाले यहाँ प्रस्तुत गर्न सहज भएन । त्यसैले सारांशमा निन्वाम रिदम के हो र कहाँबाट आएको भन्ने कुरा यसरी बुझौँ ।

सरम्य र मरम्यको सन्तान सुन्म्यसङ हुन् । सुन्म्यसङले ग्लोजुङ्मर्सजुङ्सँग विवाह गरिन् । उनीहरूबाट हारेम्म्य जन्मियो । हारेम्मयले दलजुङ थाम्यजुङसँग विवाह गरिन् । उनीहरूबाट न्यामफ्रांम्य जन्मियो । न्यामफ्रांम्यको खुलुजुङ मसलजुङसँग विवाह भयो । उनीहरूबाट जन्मेको सन्तान निन्वाम रिदम थिइन् ।

निन्वाम रिदमले ख्वाम्दासँगको सम्बन्धबाट ७ वटा सन्तान भए । सात सन्तानमध्ये पहिलो रोदोरो घ्रङ (जंगली काँडा), दोस्रो तितिछरा घ्रङ (काँडा), तेस्रो घुंघेर्मे (काँडा), चौथो न्योर (बाँघ), पाचौं मोस (भालु), छैटौं नुस (बार) र ातौं हस (मान्छे)को रूपमा जन्म लिएको किंवदन्ती छ । त्यसैलाई खालिङहरुले आफ्नो उत्पति भई निन्वाम रिदम र ख्वाम्दालाई आदिम पुर्खाको रूपमा मान्ने गरेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  २ : ५८ बजे