काठमाडौं । एउटा छोरो इन्जिनियर बन्ला र परिवारको दुखमा साथ देला भन्ने बाबुआमाको भरोसा, दाजु इन्जिनियर बन्ला र आफ्नो शिक्षादीक्षामा सहयोग गर्ला भन्ने बहिनीको आशा । तर त्यो भरोसा र आशा चुँडिएको आज ८ वर्ष पुग्यो । सम्पर्कविहीन बनेका आफ्नो सन्तान भेटिएला कि भन्ने झिनो आशामा बुढी आमा छिन् ।
बहिनी लेखकुमारी हरेक तिहारमा कतै दाइ पो आइहाल्नुहुन्छ की भनेर मूल बाटो हेर्छिन् । कतै दाइ सम्पर्कमा आए सप्तरङ्गी टिका लगाइदिन पाइन्छ की भन्ने आशा बोकेर वर्ष कटाउदैछिन् । दाइ बिनाको तिहार उनलाई तिहार जस्तो नलागेको वर्षौँ बित्यो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ बेशीगाउँका मनोरथ शर्मा अहिले सम्पर्कविहीन छन् । उनी सम्पर्क विहीन बनेको ८ वर्ष भयो । उनी काठ्माडौमा बसेर इन्जिनियर पढ्दै थिए । तर एकाएक सम्पर्कविहीन बनेका उनी ८ वर्ष बित्दा पनि सम्पर्कमा आएका छैनन् । मनोरथ कहाँ छन् ? कस्तो अवस्थामा छन् केही पत्तो छैन ।
यतिका समय भयो एउटी आमाले छोराको मुख देख्न नपाएको अनि बहिनीले दाईलाई भाइटिका लगाइदिन नपाएको । तर पनि आशा अझै मरेको छैन । एक दिन न एक दिन छोरा फर्केर आउँछ भन्ने आशा छ उनीहरूमा । थाहा छैन त्यो आशा कहिलेसम्म रहने हो । कतै सम्पर्कविहीन बनेका मनोरथ भेटिहालिन्छ कि, भन्ने आसमा परिवार खोजीमा जुटिराखेका छन् ।
शर्माकी बहिनी लेखकुमारी शर्मा दाजुको खोजी गर्न र खोजीमा सहयोग माग्दै विभिन्न मिडिया चाहर्दै छिन् । बहिनी लेख कुमारी भन्छिन्, ‘के कारणले गर्दा सम्पर्कविहीन हुनुभएको हो । सकुशल हुनुहुन्छ भने परिवारको सम्पर्कमा आइदिनुहुन आग्रह गर्दछु ।’
मनोरथ सम्पर्कविहीन हुँदा बुबा विन्दालाल कटेल जीवितै हुनुहुन्थ्यो । छोरा कुन बेला घर आउँछ भनेर पर्खाइमा नै उहाँले पनि अन्तिम सास फेर्नु भयो । छोराकै पिरले बुबा बित्नुभयो । एकातिर छोरा सम्पर्कविहीन भएको पिडा अर्को तिर श्रीमानको साथ छुट्यो । आमा होम कुमारी कटेलको दिनरात छोराकै पिरले रोएरै बित्छ, लेख कुमारीले मिडियामा सविस्तार भनेकी छिन् ।