१७ जेष्ठ २०८१, बिहिबार | Fri May 31 2024

अग्रिम पेमेन्ट लिने गायिका


२४ फाल्गुन २०८०, बिहिबार  

52
Shares

काठमाडौँ । शान्तिश्री परियार, चर्चित दोहोरी गायिका । उनको चर्चा गर्नुभन्दा पहिले नामबाटै जाउँ, उनको पुरानो नाम शान्ति परियार हो । नामसँग जोडेर श्री किन राखियो त ? रोचक घटना छ । एउटा कुनै महोत्सवमा गीत गाउन पुगेकी शान्तिलाई अग्रज गायक मिलन लामाले स्टेजमा बोलाउँदा शान्तिश्री परियार भनेर पहिलो पटक बोलाएका थिए । त्यस बेला शान्ति अलमलिएकी थिइन्, बोलाइएको मैलाई हो की अरू कसैलाई  । भलै, शान्तिलाई नै लामाले नामको पछि श्री लगाएर बोलाएका थिए । त्यस बेलासम्म उनको नाम शान्ति परियार नै थियो ।

लामो समय दोहोरी साँझमा सङ्घर्ष गरेकी उनलाई गीत निकाल्न थालेपछि नाम फेर्नुपर्ने बाध्यता आइलाग्यो । उनकै नाम सँग मिल्दो अर्की गायिका भएकाले पनि दर्शक श्रोतालाई अलमल हुने र लोकप्रियतामा समस्या देखिन सक्ने समस्याका कारण नाम फेर्ने सवालमा मिलन लामाले जुराएको नाम नै फाइनल गरेको शान्तिश्रीले पछिल्लो एक अन्तरवार्तामा खुलाएका छन् । त्यसो त, सर्जक शिव हमालले शान्ति प्रकृति परियार नाम प्रपोज समेत गरेका थिए । प्रकृति भन्दा श्री जोड्दा मिठो सुनिएकाले नामको पछाडि श्री थपेको गायिका परियारले प्रस्ट पारेकी छिन् । यस कारण पनि शान्तिश्री नामको पण्डित गायक मिलन लामा हो भन्न हिच्किचाउनै परेन । शान्तिले आफ्नी छोरीको नाम पनि श्रीबाटै उठाएकी छिन् । उनको छोरीको नाम श्रीबिन्दु हो ।

रोल्पाको विकट गाउँमा जन्मेकी उनले बाल्यकाल गाउँमै बिताइन् । ७ वर्षकी हुँदा परिवार नै लिवाङ बजार झरे ।  लिवाङमा शान्तिका परिवारले तरकारी पसल गर्थे । अभावले घेरेको त्यो अवस्थामा मट्टितेल पोखिएको दालसम्म पकाएर खाएको तितो यर्थाथ एक अन्तरवार्तामा सुनाएकी छिन् ।

सानै उमेरदेखि गीत सङ्गीतमा निकै नै लगाव राख्ने शान्ति श्रीले बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी हुन् । पढाई पुरा नहुँदै सानै उमेरमा काठमाडौँ छिरेकी उनले ९ वर्ष दोहोरी साँझमा गाइन । उनले भनेकी छिन्, ‘दोहोरी साँझमा विभिन्न सोच र नजरिया बोकेर ग्राहक आउँछन् । त्यसलाई एउटी गायिकाले बुझ्न सक्नुपर्छ । तपाईँले कुनै पनि ग्राहकको नजरिया बुझेर व्यवहार गर्नुभयो भने कसैले केही गर्न सक्दैन ।’उनले दाबीका साथ भनेकी छिन् ।

शान्तिको स्वर रेकर्ड भएको पहिलो गीत ‘घर छ तीन तले’ हो । त्यस गीतले खासै सफलता पाएन । मिलन लामा, पशुपति शर्मा लगायतका कलाकारसँग गीत गाएपछि पनि खास चर्चा बटुल्न नसकेकी शान्तिलाई प्रकाश सपुतसँगको सहकार्य जीवनकै टर्निङ प्वाइन्ट बन्यो । जब शान्तिले सपुतसँग ‘बोलमाया’गाउने अवसर पाइन् । त्यसपछि चर्चा बढ्न थाल्यो । राम्रा राम्रा गीत गाउने अवसर आयो । अधिकांश गीत हिट बन्दै गयो । देश विदेशमा आयोजना हुने मेला महोत्सवमा व्यस्त हुन थालिन् ।

उनले गाएको पछिल्लो गीत ‘अरेली काँडैले’सर्वाधिक चर्चित गीत हो । गएको तिजमा निकालिएको गीतले अझैसम्म उत्तिकै चर्चा पाइरहेको छ । यो गीतले शान्तिको व्यस्तता अझ बढाइदिएको छ ।  यसअघि चाहे ‘सोल्टी बजार’ होस्, चाहे ‘चौका दाउ’ चर्चित बन्यो । शान्तिले दोहोरीका अलवा सबै खालका गीत गाउन सक्छिन् ।

पछिल्लो अन्तरवार्तामा शान्तिश्रीले आफ्नो श्रीमानको केयरिङ र सर्पोटको खुलेर प्रशंसा गरेकी छिन् । आफू र आफ्नो गायकी पेशालाई बुझेर गरेको व्यवहारको उनी खुलेर कुरा गर्छिन् । अर्को रोचक कुरा के छ भने कुनै पनि मेला महोत्सवमा उनले अग्रिम पारिश्रमिक नलिएसम्म गाउँदिनन् । स्टेज सो गरेपछि कतिपय आयोजकले पारिश्रमिक नदिने, कम दिने र महिनौँ झुलाउने समस्याबाट जोगिन पनि शान्तिश्रीले त्यो रणनीति अपनाएको उनी स्वयम्ले स्वीकार गर्छिन् । उनले पछिल्लो एक घटना उल्लेख गर्दै भनेकी छिन्, ‘पछिल्लो पटक पारिश्रमिक अग्रिम नआएकाले गाडीबाट कार्यक्रमस्थलमा नओर्लेको र आफ्नो अडानपछि पारिश्रमिक पाएपछि स्टेज चढेको छु । त्यहाँ पुग्दा आयोजकको बारेमा खासै रामो कुरा नसुनेपछि त्यसो गर्नु परेको थियो ।’

गायिका शान्तिश्रीले गीत गाएरै काठमाडौँमा घडेरी जोडिसकिन् भने अब घर बनाउने योजनामा छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : ३९ बजे